नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा बागलुङबाट सहभागी हुने १२ जना प्रतिनिधि मध्ये दलित कोटाबाट चयन हुने २ जना सर्वसम्मत चयन भएका छन् । जिल्लाबाट चयन दुई जना दलित प्रतिनिधिमा एमाले प्रदेश कमिटिका सदस्य तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली र एमाले बागलुङ नगर कमिटिका अध्यक्ष धन बहादुर परियार चयन भएको निर्वाचन समितिका अध्यक्ष विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।
बागलुङका २ वटा निर्वाचन क्षेत्रबाट जम्मा १२ जना प्रतिनिधि चयन हुदैछन् । संघीय निर्वाचन क्षेत्र नं. १ बाट २ जना महिला र अन्य ४ जना, क्षेत्र नम्बर २ बाट १ जना महिला र अन्य ३ जना तथा जिल्लाभरबाट २ जना दलित प्रतिनिधि चयन हुने एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । जिल्लाबाट १२ जना प्रतिनिधि छनोट हुनु पर्नेमा दलिततर्फका २ जना सर्वसम्मत भएको र बाँकी १० जना प्रतिनिधिका लागि महिला ७ र अन्यतर्फ १९ जना गरी २६ जनाले उमेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र नम्बर एकबाट २ जना महिला प्रतिनिधिका लागि प्रदेश कमिटि सदस्यहरु गीता शर्मा, ममतादेवी शर्मा, हुमा कुमारी जिसी (अञ्जु) र भिमा अधिकारी, जिल्ला सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सावित्रा रानाले उमेदवारी दिनु भएको छ ।
त्यस्तै अन्य ४ जना प्रतिनिधिका लागि पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश कमिटि सचिवालय सदस्यहरु जनक पौडेल र हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्य नर बहादुर थापा, प्रदेश कमिटि सदस्य तथा संघीय सांसद डा.सूर्य पाठक, प्रदेश कमिटि सदस्यहरु कृष्ण केसी, डिल्लीराज गौतम, शिवप्रसाद सापकोटा र प्रदिप थापा मगर, जिल्ला उपाध्यक्ष कृष्ण पाठक, जिल्ला सचिवालय सदस्य केबि राना मगर र जिल्ला सदस्य कुमार खड्काले उमेदवारी दर्ता गराउनु भएको छ ।
क्षेत्र नं. २ बाट १ जना महिला प्रतिनिधिका लागि जिल्ला सचिवालय सदस्य बिना थापा, जिल्ला सचिवालय सदस्य यमुना काउचाको उमेदवारी परेको छ । क्षेत्र नम्बर २ बाट अन्य ३ जना प्रतिनिधिका लागि प्रदेश कमिटि सदस्यहरु मोहनलाल शर्मा, संजय शेरचन (सुनिल), तुलसी अर्याल, प्रदेश कमिटि सदस्य तथा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, प्रदेश कमिटि सदस्य सञ्जय श्रेष्ठ, जिल्ला सचिव विष्णु भुषाल, जिल्ला सचिवालय सदस्य डम्मर श्रीसले उमेदवारी दिनु भएको छ ।
दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयन गर्ने विषयमा छलफल भैरहेको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मन कुमारी केसी जिसीले जानकारी दिनुभयो । दलिततर्फ सर्वसम्मत भइनै सक्यो, महिला र अन्य तर्फ पनि सर्वसम्मत बनाउनका लागि सबैको पहल र छलफल भैरहेको छ, जिल्ला इन्चार्ज केसीले भन्नुभयो–राष्ट्रिय महाधिवेशनलाई एकताको सन्देश दिने गरी सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको अवस्थामा प्रतिनिधि चयनमा पनि सर्वसम्मत बनाउनेमा सबैको जोड छ ।










