माओवादी केन्द्रको वडा सम्मेलन आजबाट सुरु, ढोरपाटनको विभिन्न वडामा नेतृत्व चयन

माओवादी केन्द्रको वडा सम्मेलन आजबाट सुरु, ढोरपाटनको विभिन्न वडामा नेतृत्व चयन
२०७८ मङ्सिर ४ गते शनिवार ०७:५६

बागलुङ- नेकपा माओवादी केन्द्रले शनिवार एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा सम्मेलन हुन लागेको हो । सर्वसम्मत नेतृत्व चयन गर्न नसके...

बागलुङ- नेकपा माओवादी केन्द्रले शनिवार एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा सम्मेलन हुन लागेको हो । सर्वसम्मत नेतृत्व चयन गर्न नसके निर्वाचनमा जान पार्टी केन्द्रले निर्देशन दिएको छ ।

पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।

वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजना अनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ । निर्वाचन समितिमा रहने सदस्यलाई सो आयोगले तालिम तथा प्रशिक्षण दिएर देशभर खटाएको छ ।

यस्तै बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको विभिन्न वडाहरुमा वडा अधिवेशन सम्पन्र्न भैसकेका छन् । जस अन्तरगत वडा नम्बर ५ मा दिलिप बि.कको अध्यक्षतामा २९ सदस्य चयन भएका छन् । यस्तै गरि वडा नम्बर ७ मा ओम प्रकाश पुन,वडा नम्बर ८ मा भद्रमणी सुनार र वडा नम्बर ९ मा खुम बहादुर वि.क को अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरिएको ढोरपाटन नगर ईन्चार्ज चन्द्रलाल अर्यालले बताउनुभयो ।

भोली वडा नम्बर ६ को वडा अधिवेशनको लागि गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर बुढा सागर आउनुहुने समेत जनाईएको छ । कार्यक्रम ढोरपाटन ६ को गाडीखोलामा हुनेछ । बाकीँ रहेका वडाहरुमा भोली नै अधिवेशन सम्पन्र्न हुने नगर ईन्चार्ज अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत माओवादी केन्द्रले पार्टी सदस्यता वितरण तथा नवीकरण पनि टुंगो लगाएको छ । निर्वाचन आयोगका प्रमुख श्रेष्ठले पार्टी सदस्य करिब ८ लाख पुगेको बताउनुभयो ।

प्रकाशित मिति २०७८ मङ्सिर ४ गते शनिवार ०७:५६
प्रतिक्रिया दिनुहोस्