कांग्रेस प्रदेश प्रतिनिधिमा विजयी १८ वर्षीया उषा भन्छिन्ः अब युवाले पार्टी र समाज बदल्ने हो

कांग्रेस प्रदेश प्रतिनिधिमा विजयी १८ वर्षीया उषा भन्छिन्ः अब युवाले पार्टी र समाज बदल्ने हो
२०७८ मङ्सिर ५ गते आईतबार ०७:३६

बागलुङ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बिहानै सामाजिक सञ्जालमा लेखे, ‘१० प्रतिशत केन्द्रीय सदस्य र प्रदेश कार्यसमिति सदस्यको अवधारणा यिनै उदाउँदा अनुहारको लागि। १८ वर्ष पुग्दा नै प्रदेश अधिवेशन प्रतिनिधि...

बागलुङ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बिहानै सामाजिक सञ्जालमा लेखे, ‘१० प्रतिशत केन्द्रीय सदस्य र प्रदेश कार्यसमिति सदस्यको अवधारणा यिनै उदाउँदा अनुहारको लागि। १८ वर्ष पुग्दा नै प्रदेश अधिवेशन प्रतिनिधि चुनिएकी उषालाई हार्दिक बधाई !’

मतका लागि अनुरोध गरिएको पोस्टरसहित प्रवक्ता शर्माको बधाई प्राप्त गर्ने किशोरी हुन्– बागलुङ, काठेखोला गाउँपालिका–५ बिहुँकी उषा सापकोटा ।

भर्खरै कानुनमा १२ कक्षा उत्तीर्ण गरेकी उषा शनिबार भएको कांग्रेस क्षेत्रीय अधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नम्बर १ ९क० बाट प्रदेश प्रतिनिधि चुनिएकी छन् । प्रदेश प्रतिनिधिका लागि खसआर्य कोटामा प्रतिस्पर्धा गरेकी उषा २८६ मतसहित विजयी भएकी हुन् ।

‘पहिले राजनीतिक परिवर्तन, अहिले राजनीतिमा परिवर्तन’ नारासहित उनी नाति पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा होमिएकी हुन् ।
टिकटक र सामाजिक सञ्जालमा व्यस्त रहने पुस्ताबाट राजनीतिमा होमिएकी उषा आफूसँग राजनीतिबाट समाज परिवर्तन गर्ने सपना रहेको बताउँछिन् ।

‘विदेश जाने सपना देख्नुभन्दा नेपाललाई नै स्वर्ग बनाउने अभियान थाल्नुपर्छ’, उनले टेलिफोनमा भनिन्, ‘हामी युवाले राजनीतिमा परिवर्तन ल्याउनुपर्छ। राजनीतिमा लागेर देश बनाउन सकिन्छ भनेर नै म यता आएको हो ।’

एलएलबीको तयारी गर्दै गरेकी उषासँग तत्काल ठूला सपना छैनन् ।

राजनिति र पढाइलाई सँगसँगै अगाडि बढाउनुछ । कानुनसँगै राजनीति शास्त्रसमेत पढ्ने सोच बनाएकी उनको पढाइ सकेर राजनीतिमै सक्रिय हुने चाहना छ। घरकी कान्छी छोरीलाई पारिवारिक सहयोग पनि मिलेकै छ ।

प्रजातान्त्रिक विचार र सिद्धान्तले तानिएर नै आफू बूढा पुस्ताले हाँकेको कांग्रेसको राजनीतिमा आएको उषाको भनाइ छ ।

‘हाम्रो परिवार र नातापातामा सबै पार्टीमा आस्था राख्ने हुनुहुन्छ, तर म घरको वातावरण र विचारले कांग्रेस भएँ’, हाम्रो टेलिफोन उठाउँदा नै ‘जय नेपाल’को अभिवादन गरेकी उषाले भनिन्, ‘अब युवाले पार्टी र समाज बदल्ने हो ।’

प्रकाशित मिति २०७८ मङ्सिर ५ गते आईतबार ०७:३६
प्रतिक्रिया दिनुहोस्