नेकपा एमालेको दशौं महाधिवेशन नजिकिएसँगै पदाधिकारीका लागि आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय हुन थालेका छन् । सोही क्रममा गण्डकी प्रदेशबाट केन्द्रीय पदाधिकारीका लागि मुख्यतया चार आकांक्षी देखिएका छन् । यद्यपि चारै जनाले उम्मेदवारी घोषणाका लागि भने आनाकानी गर्दै आएका छन् ।
गण्डकीबाट केन्द्रीय पदाधिकारीमा दाबी गर्नेहरूमा पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी, किरण गुरुङ र पद्मा अर्याल छन् । पृथ्वी सुब्बा गुरुङले महासचिव र किरण गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । त्यसैगरी खगराज अधिकारी र पद्मा आर्यालले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुनुहुन्छ भने पार्टीको सचिव पनि । प्रदेश सरकारको मुख्यमन्त्री र पार्टी सचिवका रुपमा कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेका कारण आफूले दशौं महाधिवेशनमा महासचिव पदमा स्वाभाविक रुपमा दाबी गर्न सक्ने उहाँको भनाइ छ ।
गण्डकीकै अर्का प्रभावशाली नेता खगराज अधिकारी पनि पदाधिकारीको आकांक्षी हुनुहुन्छ । अधिकारीले सचिवमा उम्मेदवार दिने योजना बनाउनुभएको छ । पार्टीमा गरेको योगदान र भूमिकाको आधारमा आफूले सचिवमा उम्मेदवारी दिने उहाँको भनाइ छ । अधिकारीले यसअघि पार्टीको पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, अनुशासन आयोगमा रहेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्नुभएको छ ।
पृथ्वी सुब्बा गुरुङ र अधिकारीबीच खासै सुमधुर सम्बन्ध छैन । दुवै नेताले पार्टी अध्यक्ष ओलीलाई पछिल्लो समय खुलेर साथ दिँदै आएका छन् । त्यसैले पनि यी दुई नेतालाई व्यवस्थापन गर्नु पार्टी नेतृत्वका लागि चुनौतीको विषय बनेको एमालेका स्थानीय कार्यकर्ता बताउँछन् । यी दुई नेताबीच व्यक्तित्वको टक्करकै कारण पार्टीको वडा तथा नगर अधिवेशनमा सकस देखिएको थियो ।
प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले गण्डकी इन्चार्ज किरण गुरुङले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवार बन्ने बताउनुभएको छ । उहाँ नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित हुनुभएको थियो । पछिल्लो समय पार्टीभित्रको शक्ति संघर्षमा उनले अध्यक्ष ओलीलाई साथ दिँदै आउनुभएको छ ।
गण्डकी प्रदेशबाट पूर्वमन्त्री पद्मा अर्याल पनि पदाधिकारीमा दाबी गर्न अग्रसर देखिनुहुन्छ । उहाँले पार्टीमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकाले महाधिवेशनमा सचिव पदमा आफ्नो दाबी रहने बताउनुभएको छ । पार्टीमा समावेशीताका हिसाबले पनि महिला सहभागिताका लागि आफ्नो उम्मेदवारी स्वाभाविक हुने उहाँको भनाइ छ ।
संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएर काम गरिसकेकी उहाँ नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी हुनुभएको थियो । उहाँ पनि पार्टीभित्र अध्यक्ष ओलीको निकट रहेको जनाईएको छ ।










