बागलुङ- नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ मा जोकलाल बुढा मगर विजयी हुनु भएको छ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर बागलुङका दुई निर्वाचन क्षेत्रमा सभापति सहितका पदाधिकारीहरु दुई प्यानलमा विभाजित भएर मतदान प्रक्रियामा होमिएका थिए ।
बागलुङको क्षेत्र नं. २ मा कुल ८ सय २८ जनाले मतदान प्रतिनिधि रहेकोमा मंगलबार मतदान प्रक्रिया चलेको थियो । क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तमानखोला गाउँपालिकाका अध्यक्ष समेत रहेका जोकलाल बुढा र ढोरपाटन नगरपालिकका नरजंग घर्तिबीच भिन्नाभिन्नै प्यानलमा प्रतिस्पर्धा भएको हो ।
बुढा मगरले प्रतिद्वन्द्वी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पराजित गर्नु भएको छ । बुढाले ४१९ मत प्राप्त गर्नु भएको छ भने घर्तीको ३२९ मत ल्याउनुभएको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिनुभयो ।मनोनय अघिसम्म गगन पुनले समेत उमेदवारीको प्रचार गरेपनि उहाँ अन्तमा महाधिवेशन प्रतिनिधिमा चुनाव लड्नु भएको थियो ।
बुढा मगर संस्थापन पक्षबाट र घर्ती संस्थापन इतरको नेता मानिनुहुन्छ । सचिव २ पदमा ४ जनाको उम्मेदवारी परेकोमा धर्मबहादुर घर्ती र नारायणध्वज मल्ल विजयी भएका छन् । घर्तीले ३८० मत र मल्लले ३८९ मत प्राप्त गरेका छन् । सचिव पदका उमेदवार भरत बहादुर के.सीको २७५ र हिमबहादुर भण्डारीको ३५३ मत खसेको थियो ।
सहसचिवमा ४२२ मतसहित दिपक कुवँर र ३२४ मतसहित निरन चन्द विजयी भएका छन् । प्रत्यक्ष खुल्ला सदस्यमाज्ञान बहादुर श्रीस, दीपेन्द्र कुवँर र राम बहादुर खड्का निर्वाचित भएका छन् । समानुपातीक खस आर्य तर्फ अनिता कुमारी जैसी ४०३ मत सहित विजयी भएकी छिन् । समानुपातीक आदीवासी जनजाती खुल्ला तर्फ ५६५ मतसहित भागि बहादुर घर्ती निर्वाचित भएका छन् । समानुपातीक दलित महिला तर्फ कमला विक ४७९ मतसहित विजयी भएकी छिन् ।
दलीत खुल्ला तर्फ ठगबहादुर विक ४८५ मतसहित जिवयी भएका छन् । अल्पसंख्यक, अपाङ्ग खुल्ला तर्फ युवक प्रसाद श्रेष्ठको ४०६ मतसहित विजय भएका छन् । प्रदेश (क) खुल्ला तर्फ कर्णबहादुर कार्की र विरेन्द्र श्रेष्ठ विजयी भएका छन् । प्रदेश (ख) खुल्ला तर्फ जीवन कुवँर र थमप्रकाश छन्त्याल विजयी भएका छन् ।
यसैगरि नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी हुनुभएको छ । पार्टीमा संस्थापन इतरका शर्माले संस्थापन पक्षका उम्मेदवार खडक वहादुर थापालाई पराजित गर्नुभएको हो ।
प्रतिद्वन्दी थापालाई ४ मतले हराउँदै शर्मा क्षेत्रिय सभापति बन्नुभएको छ । शर्माले ४५४ मत पाउनुभएको थियो भने थापाले ४५० मत पाएको निर्वाचन समितिले जनाएको छ ।
शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोबिन्द पौडेल (गोपाल), सह–सचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी हुनुभएको छ ।










