बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा नेकपा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन भएको छ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगर समितिको शनिबार सम्पन्न प्रथम नगर अधिवेशनले भिम गौतमको अध्यक्षतामा ६५ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा सुमित घर्ति, हिक्मत भण्डारी, लेखत कार्की, सचिवमा बिर बहादुर घर्ति, सह–सचिवमा विमला वि क र कोषाध्यक्षमा गमु बुढा रहनुभएको छ भने अन्य सदस्यहरु रहेको जनाइएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई, अधिवेशनका प्रमुख अतिथि, गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्र बुढा मगर “सागर” ले सपथ गराउनुभएको थियो । अधिवेशनमा ढोरपाटन नगर स्तरमा रहेका माओबादीका अधिकांश नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
माओवादी केन्द्रको पालिका स्तरीय अधिवेशन शनिबार देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गर्नुभएको थियो । धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ । केहीमा स्वस्थ प्रतिस्पर्धाबाट पनि निर्वाचित भएका छन् भने कतिपय पालिकाहरुमा नेतृत्व चयन प्रक्रिया जारी रहेको र आइतबार साझँ सम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने माओवादी केन्द्रले जनाएको छ ।













