बागलुङमा यहि मंसिर तेस्रो साता देखि मतदाता नामावली संकलन विशेष कार्यक्रम–२०७८ सञ्चालन गरिने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बागलुङले बुधबार राजनीतिक दल तथा सरोकारवालाहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा यहि मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गरिने जनाईएको हो । मतदाता नामावली संकलन विशेष कार्यक्रमको पहिलो चरणमा तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, जैमिनी नगरपालिकामा गरिने छ ।
दोस्रो चरणमा यहि मंसिर २८ गतेदेखि निसीखोला, ताराखोला, काठेखोला, बरेङ गाउँपालिकामा मतदाता नामावली संकलन गरिने निर्वाचन कार्यालय बागलुङले जनाएको छ । मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गर्न समेत सक्नेछ । साथै जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निरन्तर चलिरहने बताईएको छ ।
मतदाता नामावली दर्ताको लागि नेपाली नगारिकताको प्रमाण–पत्रको सक्कलल र प्रतिलिपि साथमा लिई जानु पर्नेछ । अन्तरक्रियामा सहभागिहरुले मतदाता नामावली संकलन गर्ने स्थानहरु थपिनु पर्नेमा जोड दिएका थिए । हाल तोकिएको स्थानहरु मात्र उपयुक्त नभएको र वडा तहसम्म मतदाता नामावली संकलन गरिनु पर्नेमा जोड दिएका थिए । यद्धपी निर्वाचन कार्यालय बागलुङका प्रमुख नारायण दत्त शर्मा ढुङ्गानाले भने निर्वाचन आयोगले तोकेको भन्दा अन्यत्र गर्न नसकिने जवाफ दिएका थिए ।
मतदाता नामावली दर्ता गर्न छुटेका व्यक्तिले जिल्ला बाहिर वा आफु रहेको ठाउँबाट नै दर्ता गर्न सक्नेछन । २०७७ पुष महिनासम्म जिल्लाका १ लाख ८८ हजार १५ जना मतदाता नामावलीमा समावेश भएका छन् भने त्यस पछिको अवधिमा ३ हजार ४ सय ७० थपिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमखु राजेन्द्र ढुङ्गानाले मतदानको लागि उमेर पुगेका व्यक्तिहरु नछुटाउन सबै राजनीतिक दल लाग्नु पर्नेमा जोड दिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।










