नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ढोरपाटन नगरपालिकाको दोस्रो नगर अधिवेशन बुर्तिबाङमा शनिबार सम्पन्न भएको छ । अधिवेशनले नारायण पौडेलको अध्यक्षतामा २१ सदस्य नगर समिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र छन्त्याल, महिला उपाध्यक्षमा प्रतिभा आचार्य, सचिवमा नरिश्वर पाण्डे, कोषाध्यक्षमा ढालकुमारी पाण्डे, सह–सचिवमा राजु बि.क, सह–कोषाध्यक्ष देविकला कुँवर लगाएत सदस्यहरु चयन भएका छन् ।
कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संघका अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष सहित संघमा आवद्ध २० जना शिक्षकहरु, नेपाल राष्ट्रिय शिक्षकहरु समेत उक्त संगठनमा प्रवेश गरेका हुन् ।
सो अवसरमा बोल्दै ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले हालै नगरपालिकामा संगठनको अधिवेशनले नयाँ नेतृत्व चयन भएको भन्दै आगामी दिनको शिक्षकको पेशागत हक अधिकारका लागि अग्रसर हुने बताउनु भएको थियो ।
अहिलको परमादेशको सरकारले शिक्षकका जायज पेशागत अधिकारका कुरालाई वेवास्ता गरिरहेको पाईएको भन्दै शिक्षक र शिक्षाका मुद्दालाई अघि बढाउन आग्रह गर्नुभयो । शिक्षकले आफ्नो पेशागत मर्यादमा रहनुपर्ने भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न समेत आग्रह गर्नुभयो । शिक्षकले जटिल परिस्थितिको सामना गर्दै विगतमा शिक्षाको ज्योति बाल्ने शिक्षक समाजका सचेत वर्ग भएको भन्दै शिक्षकप्रतिको वेवास्ता र दुव्र्यवहार सह्य नहुनेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमालेका प्रदेश कमिटि सदस्य टंक पौडेल, नगर उपप्रमुख करमति पुन नेकपा एमाले जिल्ला सचिवालय सदस्य रितुवर्ण पौडेल, ढोरपाटन नगर अध्यक्ष लक्ष्मण पुन, प्रगतिशील प्राध्यापक संघका उत्तम महत, शिवलाल सुवेदी, संगठनका जिल्ला सदस्य किरण पौडेल लगाएतले बोल्नुभएको थियो ।










