ढोरपाटन पुग्ने पर्यटकलाई सडकको प्रमुख समस्या,चिसो सगैँ बढ्यो चहलपहल (फोटो फिचर)

ढोरपाटन पुग्ने पर्यटकलाई सडकको प्रमुख समस्या,चिसो सगैँ बढ्यो चहलपहल (फोटो फिचर)
२०७८ मङ्सिर २१ गते मङ्गलबार १२:३९

ढोरपाटन- नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन नेपालकै प्रसिद्ध पर्यटकीय गनतव्य पनि हो । यहाँ वर्षको दुईपटक विश्वभरका पेशेवर सिकारी आउछन । तर वर्षभरि नै आन्तरिक पर्यटक घुम्नका लागि पनि पुग्ने गर्छन् । ढोरपाटन धार्मिक र पर्यटकीय...

सडक स्तरीय भएपछि पर्यटक अझै बढ्ने स्थानियहरुको भनाई

ढोरपाटन- नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन नेपालकै प्रसिद्ध पर्यटकीय गनतव्य पनि हो । यहाँ वर्षको दुईपटक विश्वभरका पेशेवर सिकारी आउछन । तर वर्षभरि नै आन्तरिक पर्यटक घुम्नका लागि पनि पुग्ने गर्छन् ।

ढोरपाटन धार्मिक र पर्यटकीय गन्तव्य पनि हो । यहाँको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्र ताल, छेन्टुङ गुम्बा घुम्ने र पूजा गर्ने धार्मिक पर्यटक पुग्छन् भने सुन्दर उपत्यका, बुकी र यहाँका अन्य रमणीय बस्ती समेत हेर्न जानेहरु धेरै छन् ।

यतिबेला ढोरपाटनका डाँडामा हिउँ परिसकेको छ । चिसो बढेको छ । तर पनि पर्यटकहरु धमाधम जाने क्रम बढी रहेका छन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार सम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेपछि थप ३६ किमी कच्ची सडकबाट ढोरपाटन पुगिन्छ । सालझन्डी ढोरपाटन सडक आयोजनाले यो खण्डमा स्तरउन्नती गर्दैछ । सडक स्तरीय भएपछि पर्यटक अझै बढ्ने अनुमान धेरैको छ ।

कोरोना संक्रमण र निषेधाज्ञाका बीच पनि गत आर्थिक वर्षमा झन्डै ७ हजार पर्यटक ढोरपाटन पुगेको आरक्ष कार्यालयको रेकर्ड छ । यहाँ आउनेले आरक्ष कार्यालय पुगेर सिकारको बारेमा पनि जानकारी लिने गर्छन् । कतिपयले समूह बनाएर घुम्न निस्केका हुन्छन् । ‘आमा समूह, युवा समूह र अन्य कर्मचारीको समूह समेत यहाँ घुम्न आउने गरेका छन्,’ स्थानीय व्यवसायी सुरज पौडेलले भन्नुभयो, ‘आएका पाहुनालाई सहज बसोबासको व्यवस्था पनि गरेका छौं ।’ यहाँ निर्माण गरिएको सामुदायिक लजले पर्यटकलाई सहज बसोबासको व्यवस्था गरेको छ । साथै यहाँ दुई वटा सामुदायिक होमस्टे पनि छन् । उनीहरुले पनि दैनिक २० जनाको दरले पाहुना राख्न सक्ने व्यवस्था गरेका छन् ।

ढोरपाटन उपत्यका पर्यटन सँगै जीवनबुटी मानिने यार्चा गुम्बाका लागि पनि प्रसिद्ध छ । तर, सिकार आरक्षको मध्यवर्ती क्षेत्र घोषणा नभएकोले चोरी सिकारी भइरहेको छ । वैधानिक रुपमा बिक्री गर्न नसकिएको सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताउनुभयो । यहाँ निर्माण गरिने भनिएको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाले पनि धेरैको मन तानेको छ । चासो राख्नेहरुले जलविद्युत् आयोजना निर्माण गरिने प्रस्तावित स्थल घुम्ने गरेको स्थानीय डिलबहादुर विकले बताउनुभयो ।

सबै प्रकारका चाहना राखेर आउने पर्यटकले ढोरपाटन घुम्ने गरेका छन् । तर धेरैलाई थाहा नभएको ढोरपाटनको सुन्दर पक्ष बुकी अझै पनि ओझेलमा परेको छ । कतिपयले ढोरपाटनमा पुगेर घोडाचढी गर्छन । यहाँको मुख्य पाटन, पुरानो हवाई मैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्प सम्म घुम्ने गर्छन् ।

प्रकाशित मिति २०७८ मङ्सिर २१ गते मङ्गलबार १२:३९
प्रतिक्रिया दिनुहोस्