अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी युट्युब च्यानलका सञ्चालक पक्राउ

अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी  युट्युब च्यानलका सञ्चालक पक्राउ
२०७८ पुस १२ गते सोमबार ०४:५८

नेपाल प्रहरीको साइबर ब्यूरोले अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका–३१ अनामनगर बस्दै...

नेपाल प्रहरीको साइबर ब्यूरोले अश्लीलता झल्कने शीर्षक राखेर भिडियो बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका–३१ अनामनगर बस्दै आएका रामबहादुर मल्ल रहेका छन् ।

आइतबार अनामनगरबाट पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताउनुभयो ।

मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको प्रहरीको भनाइ छ । यस्तो काम विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसूर मानिने भएकाले पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार ०४:५८
प्रतिक्रिया दिनुहोस्