‘गौरवका आयोजना छिटो सक्न दबाब दिने’ कांग्रेस बागलुङको पहिलो निर्णय

‘गौरवका आयोजना छिटो सक्न दबाब दिने’ कांग्रेस बागलुङको पहिलो निर्णय
२०७८ पुस १३ गते मङ्गलबार ११:१४

चौधौं महाधिवेशनबाट निर्वाचित भएको कांग्रेस जिल्ला कार्यसमितिले पहिलो बैठक बसेको छ । आइतबार भएको बैठकबाट राष्ट्रिय गौरवका आयोजना निर्माणमा दबाब दिने निर्णय गरेको छ । बागलुङमा अहिले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी...

चौधौं महाधिवेशनबाट निर्वाचित भएको कांग्रेस जिल्ला कार्यसमितिले पहिलो बैठक बसेको छ । आइतबार भएको बैठकबाट राष्ट्रिय गौरवका आयोजना निर्माणमा दबाब दिने निर्णय गरेको छ ।

बागलुङमा अहिले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी ढोरपाटन सडक र उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माणाधीन छन् । ती आयोजना छिटो सक्न दबाब सिर्जना गर्ने निर्णय समेत गरेको सभापति जीतबहादुर शेरचनले बताउनुभयो । त्यसका लागि नेताहरु जोडिएपनि दबाब दिन पछि नपर्ने शेरचनले प्रतिवद्धता जनाउनुभयो ।

कांग्रेसले संगठन सुदृढीकरण अभियानलाई पनि प्राथमिकतामा राखेको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति जीतबहादुर शेरचनले पार्टीलाई फेरि पहिलो पार्टी बनाउन अगुवाई गर्ने बताउनुभयो । उहाँले पार्टीको आफ्नै भवन बनाउने निर्णय समेत गरेको जानकारी दिनुभयो ।

भवन निर्माणकालागि पहिलो बैठकमै ७ लाख ६१ हजार रुपैयाँ संकलन समेत भैसकेको जानकारी गराइएको थियो । जानकारी अनुसार जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले २ लाख ५० हजार, क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले २ लाख १ हजार १ सय ५१, सदस्य तेजेन्द्र कुँवरले एकलाख, टिकाराम थापाले १ लाख ११ हजार, कृष्णबहादुर घिमिरेले १ लाख रुपैयाँ संकलन गरिसकेका हुन् ।

आगामी निर्वाचनकालागि तयार रहन सबै नेता कार्यकर्तालाई आग्रह गर्दै मतदाता नामाबली र परिचयपत्र बनाउन पनि सबैलाई आग्रह गरेको छ । बैठकले वडादेखि केन्द्र सम्म सम्पन्न भएका अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई बधाइसमेत दिएको छ । पत्रकार सम्मेलन पार्टी सचिव हरिहर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै महाधिवेसनबाट जिल्ला सभापतिमा दोश्रो भएका जगदिशचन्द्र उपाध्यायले निर्वाचित सबै पदाधिकारी, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि समेतलाई जलपान कार्यक्रम आयोजना गर्नुभएको छ । बैठक पछि सबै पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरु उपाध्यायले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुनुभएको थियो ।

उक्त अवसरमा सभापति शेरचनले पार्टीलाई पहिलो शक्ति बनाउने अभियानमा चालक भएर गाडी हाँक्ने बताउनुभयो । ‘मैले गाडी हाँक्छु, तपाईंहरु इमान्दार भएर सहयोग गर्नुहोला,’ उहाँले भन्नुभयो, ‘कतै ब्रेक दवाएर दुर्घटना पार्ने काम नगरिदिनुहोला ।’ ब्रेक दबाउनेले पार्टीलाई मात्र नभइ आफ्नो पनि सुरक्षा गर्न नसक्ने भन्दै उनले पार्टीमा गुटउपगुट नरहने गरी काम गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

सभापतिका प्रत्यासी उपाध्यायले ३९ वर्षे राजनीतिक जीवनमा सधैं क्रियाशील र इमान्दार भएर लागेको बताउनुभयो । उहाँले अझैपनि कांग्रेसमै बसेर काम गर्ने र कार्यकर्ता माझमै रमाउने बताउनुभयो । ‘दुईपटक सभापतिको प्रत्यासी भएर पहिलो चरणमा प्रथम भएँ, दोश्रो चरणमा हारें,’ उहाँले भन्नुभयो, ‘तर हारेको मानसिकता लिएर नभइ सबैले जित्ने गरी फेरि लाग्नेछु ।’

उहाँले पार्टीकै कारण विदेश, जागिर र व्यापार छाडेर होमिएको समेत बताउनुभयो । उहाँले आफ्नो टाउको र शरीरका सबै घाउ र खतहरु पार्टी आन्दोलनकै क्रममा भएकोले हारेर निष्कृय बन्न नसक्ने समेत प्रष्ट्याउनुभयो । चियापान समारोहमा सबैलाई बधाइ दिएका उपाध्यायले सभापति शेरचनलाई भने दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति २०७८ पुस १३ गते मङ्गलबार ११:१४
प्रतिक्रिया दिनुहोस्