बुर्तिबाङ- सामाजिक अभियान्ताहरुबाट संकलित १ लाख ३ हजार ६ सय ५ रुपैयाँ रकम मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङ निवासी मृगौला पीडित कमला वि.कको परिवारलाई उक्त रकम बुर्तिबाङमा एक कार्यक्रका बीच हस्तान्तरण गरिएको हो ।
विगत दुई वर्षभन्दा लामो समयदेखि बाथ रोगबाट पीडित कमला वि.क. पछिल्लो समयमा दुबै मृगौलाले राम्रोसंग काम नगरेपछि भारतमा उपचार गराइएको र त्यहाँ पनि निको नभएपछि अहिले सहयोगदाताहरुको सहयोगको भरमा काडमाण्डौं शिक्षण अस्पतालमा उपचार गराइरहेको परिवारले बताएको छ । आर्थिक अभावका कारणले कमला वि.क को उपचारमा समस्या आएको थाहा पाएपछि सामाजिक अभियान्ताहरु रोशन विश्वकर्मा निसीखोला, सञ्जय सुनार निसीखोला, जसिन्द्र सिर्पाली तमानखोला, अभिषेक सिर्पाली ढोरपाटन नगरपालिका र रेशम मिजार निसीखोला गरी पाँच जनाको समूहबाट आर्थिक संकलन अभियान संचालन गरिएको थियो ।
सहयोगी दाताहरुबाट संकलित रकम विभिन्न तीन चरणमा गरी कुल १ लाख ३ हजार ६ सय ५ रुपैयाँ मृगौला पीडित कमला वि.कको उपचारको लागि निजको परिवारलाई हस्तान्तरण गरिएको अभियान्ता रोशन विश्वकर्माले बताउनु भयो । संकलित रकम मध्ये बाँकी भुक्तानी रकम समेत १७ हजार ४ सय ५ रुपैयाँको चेक कार्यक्रमकै अवसरमा मृगौली पीडित कमला वि।क।का श्रीमान् दिपक वि।क।लाई हस्तान्तरण गरिएको थियो ।
वि.क को परिवार गत वर्ष आएको बाढीको कारणले समेत पीडित बनेका थिए । गत बर्षको बाढीका कारणले आफ्नो खेती गरी खाने जग्गा जमिन समेत सबै बाढीले बगाएकाले आफूहरु निकै समस्यामा परेको र त्यसमाथि पनि गत चैत्र महिनादेखि श्रीमती गम्भीर विरामी परेपछि उपचारको लागि झन संकटमा परेको निजका श्रीमान् दिपक वि.क.ले बताए । आफूहरुलाई अहिले सम्म श्रीमतीको उपचारका लागि विभिन्न सहयोगी हातहरुबाट रु।१० लाख बढी रकम प्राप्त भए पनि सरकारी निकायबाट सहयोग पाउन नसकेको गुनासो गरे । उनले भने— “ढोरपाटन नगरपालिकाबाट १० हजार पाएको हो, अरु कुनै निकायबाट सहयोग मिलेको छैन । जे जति सहयोग भएको छ त्यो सबै आफन्त, इष्टमित्र र सहयोगदाताहरुबाट नै भएको हो, डाक्टरले अझै लामो समय उपचार गर्नुपर्ने बताएका छन् ।”
पीडितको उपचारको लागि थोरै भएपनि सहयोग मिलोस् भन्ने उद्देश्यले परिवारकै आग्रहमा आर्थिक सहयोग अभियान संचालन गरी सहयोगदाताहरुबाट रकम संकलन गरि पीडितलाई हस्तान्तरण गरिएको सामाजिक अभियान्ता सञ्जय सुनारले बताउनु भयो । यसभन्दा पहिला पनि सामाजिक अभियान्ताहरुबाट निसीखोलामा बाढी पीडितका लागि राहत संकलन, निसीखोलाकै लेबाङका इराकमा मृत्यु भएका अनराम वि.क.को एक वर्षदेखिको अलपत्र लाशलाई नेपाल ल्याउनको लागि र अछामकी मनसरा वि.क बचाउ अभियान लगायतका सामाजिक अभियानहरुमा सक्रियता साथ कार्य गर्दै आइरहेका छन् । सामाजिक अभियान्ता र सहयोगदाताहरुको सहयोगबाट पीडितलाई राहत मिलेको बताइएको छ ।














