बागलुङ बडिगाडको ग्वालीचौर स्वास्थ्य चौकीमा उपकरण थपिए पछि स्थानिय खुसी

बागलुङ बडिगाडको ग्वालीचौर स्वास्थ्य चौकीमा उपकरण थपिए पछि स्थानिय खुसी
२०७८ पुस २४ गते शनिवार १२:०५

तीन वर्षअघिसम्म बडिगाड गाउँपालिका ५ को ग्वालीचौर स्वास्थ्य चौकीमा सुत्केरी सेवाका लागि आउने महिलाको संख्या कम थियो । यो स्वास्थ्य चौकीको प्रभाव क्षेत्रमा घरघरमा सुत्केरी हुने धेरै थिए । प्रसूती अवस्थामा साल नझरेसम्म नालसमेत...

घरगोठको प्रसूती स्वास्थ्य चौकीमा

तीन वर्षअघिसम्म बडिगाड गाउँपालिका ५ को ग्वालीचौर स्वास्थ्य चौकीमा सुत्केरी सेवाका लागि आउने महिलाको संख्या कम थियो । यो स्वास्थ्य चौकीको प्रभाव क्षेत्रमा घरघरमा सुत्केरी हुने धेरै थिए ।

प्रसूती अवस्थामा साल नझरेसम्म नालसमेत नकाट्ने चलन बढी थियो । चेतना अभावले शिशु मृत्युदर पनि बढी थियो । जटिल समस्या भएपछि स्वास्थ्य चौकीसमेत लैजान ढिला हुँदा हेलिकोप्टर रिजर्भ गरेर लाखौं खर्चन्थे । लाखौं खर्चेर पनि कतिपयले ज्यान समेत बचाउन पाएनन् ।

तर, पछिल्ला दिनहरु महिला तथा सुत्केरीहरुका लागि सुखद बन्दै गएका छन् । स्वास्थ्य चौकीमा थपिएका सेवा सुविधाले छिमेकी वडाबासी मात्र हैन, छिमेकी जिल्ला बासीलाई पनि आकर्षित गरेको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा चासो बढाएको र गैरसरकारी संस्थाले पनि लगानी गरेपछि बिरामी, गर्भवती महिला र प्रसूती सेवा लिनेका लागि यो आर्कषणको केन्द्र बनेको हो ।

‘पहिलो पटक पाल्पा पुगेकी थिए, अहिले त यहीं प्रसूती सेवा लिएँ,’ गुल्मीको मुसिकोटकी सिर्जना विकले भन्नुभयो ‘यो पटक धेरै सेवा सुविधा रहेछ, त्यसैले टाढा जानु परेन ।’ नियमित गर्भजाँच र अन्य खोप सेवा समेत ग्वालीचौर बाटै लिएको उहाँले बताउनुभयो ।

ग्वालीचौरको यो स्वास्थ्य चौकी ‘क’ समूहको हो । त्यसैले एकजना डाक्टर सहितको दरबन्दी छ । निमित्त प्रमुखको भूमिकामा सुशिला रेश्मी हुनुहुन्छ । छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरक्षेत्रका अधिकांसले पनि यहाँबाटै सेवा लिने गरेको उहाँले बताउनुभयो । डाक्टरको दरबन्दी भएपनि आएका छैनन् । तर, रेश्मी नेतृत्वको ८ जना महिला स्वास्थ्कर्मीले यहाँ सेवा प्रवाह भने चुस्त दिने गरेको स्थानीय ज्ञानेन्द्र बलालले बताउनुभयो ।

प्रसूती सेवा, गर्भ परीक्षण र महिनाबारी सम्बन्धी समस्या भएर आएका महिलाले यहाँबाट बढी सुविधा पाएको रेश्मीले बताउनुभयो । ‘पुरुष स्वास्थ्यकर्मी नभएकोले केही व्यवस्थापकीय काममा अप्ठ्यारो छ, तर महिला सेवाग्राहीले खुलेर समस्या बताउने गर्छन्,’ उहाँले भन्नुभयो ‘पछिल्लो समय थपिएका सेवा र उपकरणले सेवा चुस्त बनाउन सकेका हौं ।’

यो स्वास्थ्य चौकीमा बिवाइसी र फेयरमेड फाउन्डेसनले कोठा तातो राख्ने उपकरण, बच्चा जन्मेपछि श्वासप्रश्वास गराउने सक्सर मेसिन, प्रसूती बेड र ल्याबमा सहयोग गरेको छ । एकजना स्वास्थ्यकर्मी समेत खटाएर व्यवस्थापनमा सघाएपछि सेवा चुस्त बनेको हो ।

‘पहिला सुत्केरी गराउनु पर्दा समस्या थियो, तत्काल रिफर गथ्र्यौं,’ रेश्मीले भन्नुभयो, ‘अहिले सबै सामाग्री छ, त्यसैले डराउनु पर्दैन ।’ हजारौं खर्च नगरी निशुल्क सेवा पाएपछि भने पुरुषहरु आएर धन्यवाद दिने गरेको रेश्मीले बताउनुभयो । वर्षमा १ सयबढी प्रसूती सेवा लिनेहरुको तथ्यांक रहेको उहाँको भनाई छ । ल्याब सेवा र निशुल्क औषधी वितरण हुने गरेपछि दैनिक ८० जनासम्म बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

महिला मात्रै भएकोले कुनै समय कठिन भएको अनमी कल्पना आचार्यले बताउनुभयो । ‘कोरोना बिरुद्धको खोप लगाउने बेला भएको भीड नियन्त्रण गर्न हामीलाई हम्मेहम्मे भयो, त्यसैले व्यवस्थापन समिति र प्रहरीलाई खबर गरेका थियौं,’ उहाँले भन्नुभयो ‘कोभिड अस्पताल संचालन गर्दा र बेडहरु बनाउने काममा महिलाले मात्रै गर्न नसकेर पुरुषहरुको साथ खोज्यौं । ’ ढोरपाटन न्युज

प्रकाशित मिति २०७८ पुस २४ गते शनिवार १२:०५
प्रतिक्रिया दिनुहोस्