बागलुङ बजारका होटल भरिभराउ भएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी बागलुङले आफ्नो नवौँ अधिवेशनमा आउने प्रतिनिधिको व्यवस्थापन जिल्लाका साना ठुला होटल दुई दिनलाई ‘बुकिङ’ गरेपछि होटल भरिभराउ भएका हुन् ।
एकै पटक धेरै प्रतिनिधि सदरमुकाम झरेपछि बजार क्षेत्र चलायमान भएका छन् । ‘बजार क्षेत्रमा चहल पहल बाक्लो भएको’ होटल व्यवसायी महासघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । ‘होटल मात्र नभएर अन्य व्यापारमा पनि अधिवेशन सहयोगी बन्ने देखिन्छ’ उहाँले भन्नुभयो । अधिवेशनलाई लक्षित गरेर होटल व्यवसायीहरुले अनियमित शुल्कमा करिव ४० देखि ५० प्रतिशत छुटमा व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।
एमाले नवौँ जिल्ला अधिवेशनमा सहभागी जिल्लाका ८५ वटा वडा, दश स्थानीय तह, जिल्ला कमिटी र जनवर्गीय संगठनबाट कुल ६५० जना प्रतिनिधि एकसाथ बागलुङ बजारमा उपस्थित हुनुभएको छ ।
सदरमुकाम होटलमा प्रतिनिधिको व्यवस्थापन गर्न कोठा नपुगेपछि महिला प्रतिनिधिका लागि जिल्ला कमिटीले छुट्टै व्यवस्थापन गरेको छ । जिल्लाभरबाट आउने महिला प्रतिनिधिलाई अखिल नेपाल महिला संघले व्यवस्थापन गर्ने एमाले जिल्ला कमिटीका सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशन पुस २३ र २४ गते दुई दिन सञ्चालन गरेकोे दलले जनाएको थियो । एकैसाथ सबै होटल भरिभराउ भएपछि होटल व्यवसायी खुःसी भएका छन् । कोरोना पछि दोस्रो पटक होटल एकसाथ भरिएको होटल व्यवसायी एन्जिल शाक्यले बताउनुभयो । व्यवसायीका लागि राम्रो अवसर पनि हो । यसअघि काँग्रेसको जिल्ला अधिवेशन हुँदा पनि सबै होटल भरिएका थिए उहाँले भन्नुभयो । एमालेले एक जना प्रतिनिधिबाट एक हजार रुपियाँ प्रतिनिधि शुल्क बुझाउनु पर्ने सर्कुलर गरेको छ ।
प्रतिनिधिहरुलाई खाना र आवासको व्यवस्थापन गरिएको शाक्यले बताउनुभयो । अधिवेशनभर करिव १५ लाख रुपियाँ खर्च हुने जिल्ला कमिटीका कार्यवहाक अध्यक्ष कृष्ण पाठकले बताउनुभयो । अधिवेशनका लागि जिल्ला कमिटीले पाँच हजार २२६ जना संगठित सदस्यबाट प्रतिव्यक्ति एक सय रुपियाँ संकलन गरेको एमालेले जनाएको छ । गोरखापत्र अनलाईन










