टोल–टोलमा सरसफाई परिचालन समिति गठन गरि सरसफाई
पछिल्ला दिनहरुमा ढोरपाटन नगरपालिकाको बोबाङ गाउँका स्थानीय सरसफाइ र आनीबानीमा परिवर्तन ल्याउन समुहनै बनाएर लागि परेका छन् ।
सरसफाइ नै व्यक्तिको पहिचान भएको भन्दै उनीहरुले गाउँमा समुहनै गठन गरेर सरसफाई अभियानमा जुटेको सामाजिक परिचालक थममाया अर्गेजाले बताउनुभयो । फेयरमेड फाउन्डेशन नेपाल र बिवाइसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाद्वारा गाउँका समुदायलाई सरसफाइ र आनीबानी परिवर्तन सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेपछि यतिबेला टोल–टोलमा सरसफाई परिचालन समिति गठन गरि काम सुरु गरिएको छ ।
गत मंसिर महिनादेखि सुरु गरिएको अभियानमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी,राजनीतिक दल, शिक्षक, विद्यार्थी, आमा समुहको उपस्थितीमा समुदायका मानिसलाई समुहमा जम्मा गरेर सरसफाइ र त्यसको प्रभावका विषयमा सचेतना मुलक कार्यक्रम गरिएको थियो । पहिलो चरणमा टोलटोलमा पुगेर हात धुन, नियमित दाँत माझ्न, घर तथा वरपरको सरसफाइ गर्न सिकाइएको थियो । अधिकांशले उक्त नियमलाई पालना गर्न थालिसकेका छन् । पछिल्लो समय सडक, खोला, खोल्सा तथा सार्वजनिक स्थलको सरसफाइमा स्थानीय सक्रिय बनेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाका फिल्ड सुपरभाईजर रामेश्वर शाहले बताउनुभयो ।
ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ गरी करिब ७ सय बढी घरधुरीका नागरिले अहिले सरसफाई कार्यक्रममा सहभागिता जनाएका छन् । प्रत्येक हप्ता गाउँघर टोल सरसफाइ अभियान हुन्छ । विद्यार्थीलाई समेत विद्यालयमा पुगेरै सरसफाइको महत्वको विषयमा जानकारी गराएसँगै दैनिक विहान र साँझ फोहोर संकलन अभियानमा विद्यार्थी समेत सहभागी छन् । ३ वटा वडामा सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउन ७ सदस्य स्वमंसेवक समिति गठन भएको छ ।
उक्त टोलीले आफनो समुदायका नागरिकलाई परिचालन गर्दै सरसफाई कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । विद्यार्थीले विद्यालय आउँदा र घर फर्कँदा विद्यालय तथा घरमा भएको फोहोर व्यवस्थापन गर्छन् । नुहाउने, कपडा सफा गर्ने, दाँत माझ्ने लगाएतका सामान्य आनीबानीमा समेत समस्या रहेको अवस्थामा पछिल्लो समय सरसफाईमा धेरै परिवर्तन भइसकेको स्थानीय धनजिता बिकले बताउनुभयो ।
पहिले–पहिले सबैले फोहोर लिएर खोला तथा घर नजिकैको सार्वजनिक क्षेत्र, खोल्सामा फ्याक्ने चलन थियो तर पछिल्लो समय अभियान चलाएइपछि जलाउन मिल्ने फोहोर जलाउने र जलाउन नमिल्ले फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्न थालिएको स्थानिय फुलमाया विकको भनाई छ । फाहोर राख्न सडक छेँउमा डस्वीन राखिएको छ । जलाउनलाई विभिन्न १२ स्थानमा इन्सिनेटर राखिएको छ । डस्टवीनमा जम्मा भएको फोहोर भरिएपछि इन्सिनेटरमा लगेर जलाइन्छ । अब फोहोर दीर्घकालिन व्यवस्थापन गर्न डम्पिङ स्थलको आवश्यकता पर्ने उहाँको भनाई छ ।
हाललाई टोलटोलमा जलाउने गरिए पनि दीर्घकालिन व्यवस्थापन जरुरी रहेको स्थानीय शेर बहादुर भण्डारीले बताउनुभयो । ‘जसले फोहोर फाल्छ उसैले व्यवस्थापन गर्छ’ भन्ने नारासहित थालिएको सरसफाइ अभियानमा सडक तथा सार्वजनिक स्थलमा फोहोर फालेमा सम्बन्धित व्यक्तिले फोहोर व्यवस्थापन गर्नु पर्ने व्यवस्था समेत गरिएपछि अहिले सरसफाइमा सबैको ध्यान जान थालेको बोबाङ स्वास्थ्य चौकीका प्रमुख दिपक थापाले बताउनुभयो ।












