बुर्तिबाङ – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजार क्षेत्रमा जथाभावी गाडी पार्किङ गर्न आज देखी नपाईने भएको छ ।
बजार क्षेत्रमा बाटो साघुँरो रहेको तथा जथाभावी गाडी पार्किङ गर्दा गाडीको जाम पर्ने र यात्रुको समस्यालाई मध्यनजर गदैँ आज ढोरपाटन नगरपालिकाका नगर प्रमुख देब कुमार नेपालीको अध्यक्षतामा बसेको बैठकले निश्चित ठाउँमा मात्र सवारी साधन पार्किङ एवंम टिकट काउण्टरहरुको व्यवस्थापन गर्ने लगायत निर्णय गरेको छ ।
बजार क्षेत्रको बाटोमा जथाभावी पार्किङ गरिएका सवारी साघनहरु बुर्तिबाङ बसपार्क,लक्ष्मी कुण्ड पुलको एक साईडमा र बुर्तिबाङ स्वामीबोटमा पार्किङ गरिने सम्पुर्ण सवारीसाघनहरु दुलेमा गरि ३ ठाउँमा मात्र पार्किङ गर्न पाईने भएको छ । अन्य स्थानमा पार्किङ गरेको पाईएमा ट्राफिक नियम अनुसार कारवाही गरिने छ ।
साथै बजार क्षेत्रमा जथावाभी रुपमा चलाईएका बस,जिप र ट्क्सीका टिकट काउन्टरहरु आजबाटै लागु हुने गरि बसपार्क बाट सञ्चालन गर्नुपर्ने,काउण्टरमा २ जना भन्दा बढि कर्मचारी बस्न नपाईने,दर्ता नभएका व्यवसाय एक हप्ता भित्र नगरपालिकामा दर्ता गर्नुपर्ने,बसपार्कमा काउन्टरहरु व्यवस्थापन र बुर्तिबाङ प्रवेश गर्ने ट्रक,मालवाहक हेवी ट्रकहरु विहान ९ बजेदेखी १० बजेसम्म र दिउँसो २ बजेदेखी ५ बजेसम्म रोक्ने लगायत निर्णय गरिएको छ ।
कार्यक्रममा नगर उपप्रमुख करमति पुन, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई,वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी ,ईलाका प्रशासन कार्यलयका प्रमुख लोक बहादुर कुवंर,प्रहरी निरिक्षक जयराम वन्त लगायत स्थानिय समाजसेवी,यातायात व्यसायी,कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यस्तै आज नै नगर प्रमुख नेपालीकै अध्यक्षतामा ढोरपाटन नगरपालिका भित्र आ.व २०७७ ⁄७८ अन्तरगत बनिरहेका झोलुङे पुलहरुको सम्बन्धमा समेत छलफल गरिएको छ । हाल निमार्णधिन झोलुङे पुलहरुको क्रमागत आयोजनालाई नपुग रकम माग गर्ने,आगामी आ.व को प्रस्तावित ८ वटा झोलुङे पुलहरुको लागि आवश्यक बजेट माग गरि निमार्ण प्रक्रिया अगाडी बढाउने लगायत निर्णय गरिएको जनाईएको छ । कार्यक्रममा जनप्रतिनिधि सगैँ कर्मचारी लगायतको सहभागिता रहेको थियो ।










