कोरोना बढेपछि सोमबार रातीदेखि माघ मसान्तसम्म बागलुङमा कडाई

कोरोना बढेपछि सोमबार रातीदेखि माघ मसान्तसम्म बागलुङमा कडाई
२०७८ माघ १० गते सोमबार ११:१५

 बागलुङ- जिल्ला कोभिड व्यवस्थापन समिति बागलुङको बैठकले सोमबार रातीदेखि माघ मसान्तसम्म सार्वजनिक यातायतदेखि सेवा प्रवाहमा कडाइ गर्ने भएको छ । बैठकले विभिन्न निर्णय गरेर ती व्यवस्था लागू गर्न जिल्ला सुरक्षा समितिलाई सिफरिस समेत...

 बागलुङ- जिल्ला कोभिड व्यवस्थापन समिति बागलुङको बैठकले सोमबार रातीदेखि माघ मसान्तसम्म सार्वजनिक यातायतदेखि सेवा प्रवाहमा कडाइ गर्ने भएको छ । बैठकले विभिन्न निर्णय गरेर ती व्यवस्था लागू गर्न जिल्ला सुरक्षा समितिलाई सिफरिस समेत गरेको हो ।

आइतबार बसेको बैठकले सबै मठमन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नित्य पूजा गर्ने, बिद्यालय, ट्युसन सेन्टर, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, हाटबजार माघ मसान्तसम्म नचलाउने निर्णय समेत गरेको हो । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म मात्रै बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयभन्दा माथी उठेर समितिले माघ मसान्त सम्मको निर्णय गरेको हो ।

छिटफूट रुपमा अझै ग्रामीण क्षेत्रमा मेला महोत्सवहरु संचालन भएको खबर आएपछि भएको भए कडाइ गर्ने निर्णय पनि गरेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत सूर्यलाल बिकले बताउनुभयो । अत्यावस्यक बिबाह ब्रतबन्ध जस्ता पर्व परेमा २५ जनाभन्दा कम मानिस जम्मा भएर गर्न लगाउने, जिल्लाका सेवा प्रवाहका कार्यालयमा सेवा लिन आउनु परेमा पनि खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने बताइएको छ ।

‘कतिपय खोप नलगाएका सेवाग्राही छन् भने उनीहरुलाई खोपको दायरामा ल्याउन यो निर्णय भएको हो’ प्रमुख जिल्ला अधिकारी रमेश ढकालले भन्नुभयो, ‘सेवा प्रवाहलाई पनि साताको दुई दिनमा बाँडिएको छ ।’ जिल्ला प्रशासन, नापी र मालपोत कार्यालयबाट दिने सेवालाई बार अनुसार तोकिएको छ ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका आइतबार र सोमबार, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई मंगलबार र बुधबार तथा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई बिहिबार र शुक्रवार सेवा प्रवाह गराउने निर्णय भएको हो । ढोरपाटन नगरपालिका, बडिगाड, तमान र निसी खोलाका सेवाग्राहीलाई पनि इलाका प्रशासनबाट समय बाडेर सेवा प्रवाह गराउने निर्णय भएको ढकालले बताउनुभयो ।

यो निर्णयले बिद्यालय र कलेज तहका परीक्षा पनि स्थगित भएका छन् । कोरोना फैलिनुमा बित्तिय क्षेत्रमा हुने भीड समेत भएकोले ती सेवालाई पनि मापदण्ड पुरा गरेर संचालन गर्न समितिले निर्देशन दिएको छ । ‘ग्रामीण क्षेत्रमा मानिस जम्मा गरेर बैठक गर्ने लघुवित्त सेवाहरु बन्द गराउनुपर्ने कुरा पनि भएको छ’ कार्यक्रममा सहभागि बागलुङ चेम्बर अफ कमर्सका सचिव तेजबहादुर कुँवर सन्तोषले भन्नुभयो, ‘मापदण्ड मात्र बनाएर हुँदैन, पालना पनि गर्नुपर्छ भन्नेमा आबाज उठेपछि कडाइका साथ पालना गर्ने निर्णय भएको छ ।’ कतिपय खोप केन्द्र समेत कोरोना सार्ने स्थान बनेको भन्दै त्यसमा प्रशासनले नियमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

आइतबारको डिसिसिएमसी बैठकले उल्लेखित मापदण्ड पालना नभएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने निर्णय गरेको छ । साथै कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएमा पिसिआर परीक्षण गर्नका लागि नमूना दिनुपर्ने र नमूना दिएका मानिस सुरक्षित स्थानमा बस्नुपर्नेमा कडाइ गरिने समेत निर्णय भएको हो ।

कोरोना संक्रमण पुष्टी भएमा १० दिनसम्म आइसोलेसनमा बस्न बैठकले सबैलाई निर्देशन गरेको छ । बागलुङमा देखिएको संक्रमितमध्येबाट १० वटा नमूना पठाएकोमा सबैजसोमा डेल्टा भेरियन्ट देखिएकोले १० दिन बस्नुपर्ने मापदण्ड बनाइएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताउनुभयो । ओमिक्रोनको नमूना भने परीक्षण नभइसकेको उहाँले जानकारी दिनुभयो । बैठकमा नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ र डा. पोखरेलले अहिले सम्मको कोभिडको अबस्था जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति २०७८ माघ १० गते सोमबार ११:१५
प्रतिक्रिया दिनुहोस्