कोरोनाको तेस्रो लहर तीब्र रुपमा फैलने क्रम जारी छ । कोरोनाको ओमिक्रोन भेरियन्ट भुसको आगोजस्तै भित्रभित्रै सल्किरहेको छ । जिल्लाका अन्य पालिकाहरुले कोरोना परीक्षण र उपचारलाई प्राथमिकताका साथ अगाडि बढाउँदा बागलुङको ढोरपाटन नगरपालिकाले भने यस विषयमा कुनै चासो नै देखाएको पाइदैन । नगरपालिकामा अहिले कोरोना परीक्षण शून्य छ । स्थानीय सरकार नै यसरी गैरजिम्मेवार बन्नु नागरिकको स्वास्थ्यमाथिको खेलवाड भएको भन्दै नागरिक अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक रुपमा कोरोरासंग मिल्दोजुल्दो लक्षण भएका विरामीहरु आउने गरेको भएपनि पिसीआर परीक्षणको व्यवस्था नभएकाले समस्या भएको एक स्वास्थ्यकर्मीले बताए । उनले कोरोराका लक्षण देखिएका जटिल विरामीलाई केहीलाई आरडीटी गर्ने गरेपनि व्यक्तिले परीक्षण गरिदिनु पर्यो भनेकै आधारमा आरडीटी परीक्षण नगरिएको जानाकारी दिए ।
आरडीटी टेष्टका लागि पहिलेका केही बाँकी रहेका परीक्षण किट रहेको तर पीसिआर टेष्ट एवं कोरोना परीक्षणको लागि नगरपालिकाको कुनै योजना नभएको र निर्देशन समेत केही नभएकाले आफूहरु अलमलमा परेको उनको भनाइ थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा प्रायजसो रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण सहितका विरामीहरुको चाप बढेको बताइएको छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्रका केही स्वास्थ्यकर्मीहरुमा समेत कोरोना पोजेटिभ देखिएको स्रोतले बताएको छ ।
कोभिडको दोस्रो लहरमा पनि जिल्लाका अन्य स्थानीय पालिकाहरु योजनावद्ध रुपमा कोभिड रोकथाम र नियन्त्रणको अभियानमा जुट्दा लामो समयसम्म ढोरपाटन नगरपालिका रमिते बनेको थियो । उद्योग वाणिज्य संघ, नागरिक समाज र स्थानीय सरोकारवाला संघसंस्थाहरुले लिखित रुपमा अनुरोध गरेपछि र विभिन्न संचार माध्यमहरुले घचघचाए पछि मात्र स्थानीय सरकारले लकडाउन र कोरोना परीक्षण गर्न बाध्य भएको थियो ।
कोरोना परीक्षणका लागि पनि त्यसको श्रेय कस्ले लिने भन्ने विषयमा ढोरपाटन नगरपालिकामा राम्रै दोहोरी चलेको थियो । नेपाली काँग्रेसका केही युवा नेता र नगरपालिकाबीच विज्ञप्तीको समेत जुहारी नै चलेको थियो । तर अहिले कोभिडको तेस्रो लहरबाट नागरिक आक्रान्त हुँदा सबै बेखबर बनेका छन् । ढोरपाटन नगरपालिकाले समयमै ध्यान नदिदा र नागरिकको स्वास्थ्यप्रति उदासिन बन्दा कोभिडको दोस्रो लहरमै चुक्न पुग्यो जसको कारण केही व्यक्तिहरु समयमै प्रभावकारी उपचार नपाउँदा ज्यान गुमाउन पुगे । त्यसबाट पाठ सिक्ने र समीक्षा गर्न समेत नसक्ने स्थानीय सरकार आफैमा बेकम्मा र मुकदर्शक बनेको छ ।
कोभिडको तेस्रो लहरबाट नागरिकलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा नगरपालिकासंग कुनै योजना नै छैन । संक्रमण दिनानु दिन बढिरहेको छ । यस विषयमा कोभिड नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाभित्र कुनै पनि गतिविधि संचालन भएको पाइदैन भने कोरोना परीक्षण शून्य छ । राजनीतिक दल र अन्य सरोकारवाला निकायको समेत ध्यान जान सकेको देखिदैन ।
नागरिकलाई सचेत गराउने, स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने, जटिल खालका विरामीहरुलाई अस्थायी कोभिड अस्पतालमा भर्ना गरी उपचार गर्ने, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्रोत साधन युक्त बनाउने, सहज रुपमा पीसीआर परीक्षणको लागि स्वाब संकलनको व्यवस्था मिलाउने र परीक्षणको दायरालाई बढाउने लगायतका विषयमा स्थानीय सरकार समयमै गम्भीर बन्नुपर्ने देखिन्छ । नगरपालिकाको हेलचेक्राइँ र बेवास्ताको कारण कोभिडको तेस्रो लहरबाट फेरि पनि स्थानीय नागरिक शिकार बन्न नपरोस्, समयमै ध्यान जान आवश्यक देखिन्छ ।










