बागलुङ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना माग्नुभएको छ । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग गर्नुभएको थियो । “अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गदैछ, मन्त्रीले भन्नुभयो थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।”
कार्यक्रममा मन्त्री पौडेलले “बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्यमन्त्री सँग निरन्तर छलफल गरी प्रदेशलाई निर्णय गराउन आफूले भनेको उल्लेख गर्नुभयो । स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले समन्वय गरे तत्काल जिल्ला अस्पताल घोषणा हुने पौडेलको भनाई छ ।
यता बुर्तिबामा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्व विद्यालयसँग जोडेर थप व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ तत्काल जाने तयारीमा रहेको पौडेलले बताउनुभयो ।
सोही क्रममा उनले तोकिएकै समयमा चुनावहुने भएकाले फागुन भरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरुलाई निर्देशन दिनुभयो । “स्थानीयतहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्बहुन सक्छ । मन्त्री पौडेलले भन्नुभयो, अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरुको काम सक्नुहोस् ।”
यता मध्यपहाडी लोकमार्ग निर्माणको विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरेर ० देखि ५.५ किलोमिटर कालोपत्रे लागि काम भइरहेको बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुले सञ्चालित योजनाको प्रगति विवरण र समस्याका बारे मन्त्रीलाई बिफ्रिङ गरेका थिए ।










