सबैभन्दा बढि बडिगाड गाउँपालिकामा २ हजार ५ सय ८५ जना मतदाता थपिए
बागलुङ जिल्लामा पछिल्लो ९ महिनाको अबधिमा १३ हजार ४ सय १४ मतदाता थपिएका छन् । २०७८ जेठ महिनादेखि माघ २४ गतेसम्मको अबधिमा सो संख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुङ्गानाले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय बागलुङले छैठौँ निर्वाचन दिवसको अवसरमा शुक्रबार बागलुङमा आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका विषय अन्तरक्रियामा ढुङ्गानाले सो तथ्याङ्क बताउनुभएको थियो । यद्धपी तथ्याङ्क थपघट हुन सक्ने उहाँको भनाई थियो ।
निर्वाचन आयोग तथ्याङ्क अध्यावधिक चरणमै रहेकोले मृत्यु भएका, बसाई सरेकाहरुको संख्या थपघट हुन सक्ने उल्लेख गर्नुभयो । जिल्लाका १० स्थानीय तह मध्ये सबैभन्दा बढि बडिगाड गाउँपालिकामा २ हजार ५ सय ८५ जना मतदाता थपिएका छन् । त्यहाँ १ हजार १ सय ६९ महिला र १ हजार ४ सय १६ पुरुष गरि २ हजार ५ सय ८५ मतदाता थपिएका हुन् ।
दोस्रो धेरै मतदाता थपिनेमा ढोरपाटन नगरपालिका रहेको छ । त्यहाँ २ हजार ४ सय ८० मतदाता थपिएका छन् । १ हजार १ सय ३५ महिला र १ हजार ३ सय ४५ पुरुष मतदाता थपिएका छन् ।
सबै भन्दा कम ताराखोलामा ३ सय ७१ जना मतदाता थपिएका छन् । काठेखोला गाउँपालिकामा १ हजार ४ सय ७५, गलकोट नगरपालिकामा १ हजार ३ सय ३७, जैमिनी नगरपालिकामा ८ सय २, निसीखोला गाउँपालिकामा १ हजार ५ सय ५९ मतदाता थपिएका छन् ।
तमानखोला गाउँपालिकामा ८ सय ६१, बागलुङ नगरपालिकामा १ हजार १ सय २८ र बरेङ गाउँपालिकामा ८ सय ३४ मतदाता थपिएका छन् । बागलुङ जिल्लामा २ लाख १ हजार ४ सय २७ जना मतदाता रहेका छन् । २०७८ माघ २४ गतेसम्म थपिएका १८ हजार ४ सय ३४ मतदाता सहित जिल्लामा जम्मा मतदाता संख्या २ लाख १ हजार ४ सय २७ पुगेको हो ।
२०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा बागलुङमा मतदाता संख्या १ लाख ३० हजार ४ सय १७ रहेको थियो । स्थानीय तह निर्वाचन २०७४मा २६ हजार ४ सय ५१ मतदाता थपिएसँगै जिल्लामा जम्मा मतदाता संख्या १ लाख ५६ हजार ८ सय ६८ रुपैयाँ पुगेको थियो ।










