आमाबाट सिकेको सिप हो तमानखोला गाउँपालिका–३ कि छलिमाया बुढाथोकीले उनको हडौला बुन्ने । आमाबाट ६६ बर्षीय बुढाथोकीले सानै उमेरदेखि हडौला बुन्न जान्नुभयो ।
आफु सानो हुँदा गाउँमा थुप्रै महिला पुरुषले भेडाको उनबाट हडौला, काम्लो लगायतका कपडा बुन्ने चलन थियो । खासमा त्यतिखेरको समयमा अहिले जस्तो बजारका राम्रा कपडा थिएनन त्यसैले प्रचलनमा भेडाको उनबाट स्थानीय स्तरमा नै हडौला, काम्लो लगायतका कपडा बुनिन्थ्यो ।
‘दछना त्यहि भेडाको उन कातेर बनाईएको कपडाको हुन्थ्यो, ओड्ने कम्मल पनि त्यहिबाट बनाईन्थ्यो ।’ बुढाथोकीले भन्नुभयो ‘अहिले त्यस्तो अवस्था छैन, गाउँमा फाट्टफुट्ट बाहेक भेडाको उनबाट कपडा बुनेको खासै देखिदैन ।’
यस्तो बुन्न छोडेकोमा आफुलाई चिन्ता लागेको उहाँले बताउनुभयो । पछिल्लो समयमा भेडा पालनमा कमि हुँदा प्रयाप्त मात्रामा उन नपाइने र आधुनिक राम्रा लत्ता कपडाका कारण पनि गाउँमा भेडाको उनबाट बनाइने कपडा बुन्न छाडिएको हुन सक्ने बुढाथोकीले बताउनुभयो ।
उनबाट बुनेको कपडा अत्यन्त न्यानो हुने भएकाले तमानखोला, निसीखोलाका केही ठाउँहरुमा जाडो छल्न यसकै प्रयोग गरिन्छ । यसलाई आधुनिकिकरण गर्न सके स्थानीयले राम्रो आम्दानी गर्न सक्ने अपेक्षा गरिन्छ । भेडाको उनबाट धागो काति चर्खा र फिर्केको सहायताले हडौला, काम्लो लगायतका सामाग्री बुनिन्छ । ईपरी न्युज










