गलकोट- नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमिति बागलुङको तेश्रो बैठक गलकोटमा सम्पन्न भएको छ । शिक्षक एकता आजको आवश्यकता गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमितिको तेश्रो बैठक शनिबार गलकोटमा सम्पन्न भएको हो ।
बैठकमा बोल्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका निवर्तमान केन्द्रिय सदस्य टिकाराम सापकोटाले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन शिक्षक आन्दोलनको पहरेदार रहेको बताउनुभएको थियो । उहाँले शिक्षकका हक हित र अधिकार सुरक्षित गर्न अहोरात्र खटेको सङ्गठन नै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रहेको बताउनुभएको थियो । सापकोटाले शिक्षाको गुणस्तर सुधार्न पेशागत मर्यादामा रहेर सामाजिक जग स्थापना गर्दै निष्ठावान शिक्षक भएर सेवा गर्न सम्पूर्ण शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो ।
बैठकमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष गंगा शर्माले सङ्ठनको वर्तमान अवस्था केन्द्रिय समितिले दिएको निर्णयको २१ बुदे निर्देशन र आगामी भावि कार्यक्रमको बारेमा चर्चा गर्नुभएको थियो ।
बैठकले शिक्षक दिवस चैत्र २८ र २९ गते ढोरपाटनमा मनाउने, बागलुङ जिल्लामा शिक्षक महासंघ गठन गर्न अधिकतम लचिलो हुने निर्णय तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सदस्य डिल बहादुर थापा ब्लड क्यान्सरबाट पिडित हुनुभएकोले उहाँलाई आर्थिक सहयोग गर्ने निर्णय गरीएको थियो । २०७९ मा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पात्रो प्रकाशन गर्ने निर्णय गरिएको थियो । त्यसका लागि बालकृष्ण सापकोटाको संयोजकत्वमा क्यालेन्डर प्रकाशन समिति गठन गरिएको छ ।
बैठकमा नेपाल राष्ट्रिय शिक्षक महासंघका उपाध्यक्ष छविरमण रेग्मि, नेकपा एमाले जिल्ला उप–सचिव डम्मर बहादुर श्रीस, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका निवर्तमान अध्यक्ष गोविन्द भण्डारी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका निवर्तमान अध्यक्ष अनन्त खड्का ललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बैठकमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष गंगा शर्माको अध्यक्षतामा ९ सदस्यीय सचिवालय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा इन्द्रा खड्का, बालकृष्ण सापकोटा रहनुभएको छ । त्यस्तै सचिवमा कृष्ण भट्राई, सह-सचिवमा नम कुमारी सापकोटा, कोषाध्यक्षमा झक बहादुर क्षेत्री, सह–कोषाध्यक्षमा शान्ति ज्ञवाली रहनुभएको छ । त्यस्तै गोविन्द बहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
बैठक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष गंगा शर्माको अध्यक्षता, उपाध्यक्ष इन्द्रा खड्काको स्वागत तथा सचिव कृष्ण भट्राईको सञ्चालनमा सम्पन्न भएको थियो ।










