निसीखोला- बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. ४ मा क्रियाशील खाँडमष्ट युवा क्लबको ७ औं वार्षिकोत्सव तथा शिवरात्री मेला–२०७८ विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको उद्घाटन महाशिवरात्रीको दिन निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन पछि बोल्दै प्रमुख अतिथ पौडेलले समुदायको विकासका लागि युवा वर्ग एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनु भएको थियो । उहाँले थप बोल्दै समाजका सामाजिक सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै विकास कार्यमा सबै जुट्नु पर्ने बताउनु भएको थियो । साथै सामाजिक विकासमा खाँडामष्ट युवा क्लबले खेलेको सकारात्मक भूमिका प्रति उहाँले धन्यवाद व्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि एवं वडा नंं। ४ का वडा अध्यक्ष टिकानिधि पौडेल, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रेम घर्ती मगर, क्लबका पूर्व अध्यक्ष ईन्द्रलाल रेग्मी, ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक उमानन्द रेग्मी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य लोकेन्द्र सुनार लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको अवसरमा क्लबले वडास्तरीय भलिबल प्रतियोगिता, भजन प्रतियोगिता, दोहोरीगीत प्रतियोगिता, भाले छोपाई, घैंटो फोर लगायत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथै गरिब तथा जेहेन्दार विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।खाँडामष्ट युवा क्लबका अध्यक्ष तुल्सीराम रेग्मीको अध्यक्षता रहेको उक्त कार्यक्रममा क्लबका सचिव अर्जुन सापकोटाको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन नवीन रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा शिवमन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई समेत सम्मान गरिएको थियो भने उक्त कार्यक्रमको अवसरमा राष्ट्रिय कलाकारहरु लोकदोहोरी गायिका बसन्ती थापा, ईश्वर सिंह, सर्जक अन्चल शाही लगायत स्थानीय कलाकारहरुले मनोरञ्जन तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।














