बागलुङ- पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा स्थानीय तहको निर्वाचन निकै रोचक बन्ने देखिएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनको तयारी स्वरुप नेकपा एमाले बाहेकका दलहरु एकवद्ध भएर अगाडी बढ्ने तयारी स्वरुप सोमबार आज बुर्तिबाङमा संयुक्त कार्यक्रम सम्पन्र्न गरेका छन् ।
विगत केहि महिनादेखि निरन्तर छलफल र ढोरपाटन नगरपालिकाले गरिरहेका गलत प्रवृत्तिको विरोधमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनसम्म समन्वय गरेर अगाडि बढ्ने भएका हुन । निरन्तर छलफलमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र नेकपा क्रान्तीकारी गरी ६ दलको गठवन्धन गरी निर्वाचनसम्म जाने विषयमा निरन्तरको छलफल पश्चात सयुक्त रुपमा कार्यक्रम गर्न थालेको जनाईएको छ ।
आज बुर्तिबाङ स्थित मनकामना हलमा ढो.न.पा १,२ र ३ वडाका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले नगरपालिका भित्रका सोझा साझा जनताको कम्जोरीको फाईदा कुनै व्यक्तिले लिईरहेको भन्दै ढोरपाटन नगरपालिकाले अहिलेसम्म गरेका काम र कम्जोरी प्रत्येक नागरिकलाई बुझाउने बताएका हुन् । कार्यक्रमका वक्ता नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले भागभण्डाकै कारण गठवन्धन नमिल्ने हल्ला फिजाउन खोजिएको भन्दै यस नगरपालिकामा देखिएको अनेक समस्या र विकृति विरुद्ध एकजुट हुने र सबैको सहमतिमै योग्य र दक्ष व्यक्तिलाई चयन गरिने बताउनुभएको थियो ।
थप बोल्दै उहाँले ढोरपाटन नगरपालिकामा नगरप्रमुख देवकुमार नेपालीले राज्यको तर्फबाट प्राप्त सम्पत्ती माथि पार्टी अनुकुल दोहन गर्ने गरेको, स्थानीय तह सञ्चालनको पद्धति र विधि बाहिर गएर मनोमानी गरेको, नगरपालिकाबाट जनताले आवश्यकताका आधारमा पाउनुपर्ने सेवा सुविधा लिँदा जवरजस्ती पार्टी प्रवेश गर्न बाध्य पारेको लगायतका कारण आफुहरु जनताको न्याय र स्थानीय तहमा हाल भइरहेको गलत प्रवृत्तिलाई रोक्नका निम्ति निर्वाचनसम्म गठबन्धन बनाएर अगाडि बढ्ने सहमति अनुसार अगाडी बढेको बताउनुभयो ।
कार्यक्रमका अर्का वक्ता नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य एवम ढोरपाटन नगर इन्चार्ज चन्द्रलाल अर्यालले अनावश्यक हल्ला र प्रलोभनमा नपरी गठवन्धनमा आवद्ध दलका नेता कार्यकताहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । हाम्रो गठबन्धनको उद्देश्य खराव प्रवृत्तिलाई हटाउनका निम्ति हो जनताले राज्यबाट पाउनुपर्ने सेवा तथा सुविधा सहज रुपमा पाउनुपर्छ,’उहाँले भन्नुभयो,‘स्थानिय तहमा राजा रजौटाको जस्तो हुकुमी शासन र पार्टी विशेष विकास गर्ने र जनतालाई अनावश्यक प्रलोभनमा पारेर पार्टी प्रवेश गराउने काम रोकिनुपर्छ ।’ नगर प्रमुखको अत्याचारको विरुद्ध आफुहरु एक ढिक्का भएर निर्वाचनमा जाने अर्यालको भनाई थियो ।
यस्तै अर्का वक्ता राष्ट्रिय जनमोर्चाको तर्फ देखि केन्द्रिय सदस्य समेत रहनु भएका गौरिश्वर पाण्डेले ढोरपाटन नगरपालिकामा देखा परेका खराव प्रवृति, जनताका अनेक समस्या र पाटी प्रवेशको रमिता अब धेरै समय नटिक्ने बताउनुभएको थियो । नेकपा एमाले बाहेकका दलहरु एकवद्ध भएर अगाडी बढ्ने सहमति गरिएको छ उहाँले भन्नुभयो अव गाउँगाउँमा संयुक्त कार्यक्रम गरि जनतालाई यथार्थ कुरा बुझाउने छौ । क्षणिक खुशी,लोभ र लालचकै कारण ढोरपाटन नगरपालिकाका जनता पछि परेको भन्दै अब समिक्षा गर्ने समय आईसकेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसको महाधिवेसन प्रतिनिधि दिलमायाँ पौवी,जनता समाजवादी पार्टीका प्रदेश कमिति सदस्य शंकर कुवंर,ढोरपाटन नगर संयोजक गगं बहादुर घर्तिमगर लगायतले मन्तव्य राख्नुभएको थियो ।
बोल्ने अधिकाशं वक्ताहरुले नगर प्रमुख देवकुमार नेपालीलाई बेला बेलामा सचेत गराउदा गराउदैँ पनि मनपरि गरेको आरोप छ । बुर्तिबाङ बजार क्षेत्रमा बाटो पिच,सोलार बत्ति जडान र आसपासका क्षेत्रमा रेलिङ निमार्ण नयाँ सहरी आयोजना मार्फत भएको तर नगर प्रमुख लगायत आसेपासेले आफ्नो सक्रियतामा भएको भनि हल्ला फिजाएको उनीहरुको भनाई थियो । विकासका कुनै पनि राम्रा काम भएका छैनन् । नगर क्षेत्र भित्र कार्यरत कर्मचारी शिक्षकहरुलाई डराई धम्काई पार्टी प्रवेश गराउने सर्वसाधारणलाई प्रलोभनमा पारी पार्टी प्रवेश गराउने गरेको अन्य पार्टीको आरोप छ ।
एमाले प्रवेश गर्न अस्वीकार गर्नेहरुलाई नगर प्रमुखले विभिन्न बहाना बनाएर नगरको सेवाबाट बञ्चित गर्ने गरेको गुनासो छ । नगरपालिका बाट खरिद गरिएको जस्तापाता,प्रदेशबाट आएको पाईप लगायत नगरपालिको स्रोत साधनको मनपरि वितरणका साथै आफुँ चर्चामा आउने बाहेक कुनै पनि राम्रो काम नगरेको उनीहरुको भनाई थियो । कार्यक्रम नेपाली काँग्रेस ढोरपाटन नगर सभापति धनबहादुर कायतको अध्यक्षता,रा.ज.मो ढोरपाटन नगर संयोजक दिपक थापाको स्वागत मन्तव्य,नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष भिम गौतमको सञ्चालनमा सम्पन्र्न भएको थियो । यस्तै भोली ढो.न.पा ५ र ६ को सैखोलामा कार्यक्रम गरिने समेत जनाईएको छ ।




















