स्वास्थ्य क्षेत्रमा फड्को मार्दै बागलुङको तमानखोला गाउँपालिका

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै बागलुङको तमानखोला गाउँपालिका
२०७८ चैत ६ गते आईतबार ०७:३८

बागलुङ सदरमुकामदेखि सबैभन्दा दुर्गममा रहेको तमानखोला गाउँपालिकाले स्वास्थ्यमा फड्को मारेको छ । तमानका वडा र बस्ती तहमै सुरक्षित सुत्केरी सेवा संचालनमा छ । गाउँपालिकाले सबै वडामा मात्र नभइ बस्तीमा पनि लगानी गरेर आधारभूत तहको...

बागलुङ सदरमुकामदेखि सबैभन्दा दुर्गममा रहेको तमानखोला गाउँपालिकाले स्वास्थ्यमा फड्को मारेको छ । तमानका वडा र बस्ती तहमै सुरक्षित सुत्केरी सेवा संचालनमा छ । गाउँपालिकाले सबै वडामा मात्र नभइ बस्तीमा पनि लगानी गरेर आधारभूत तहको स्वास्थ्य सेवा र प्रसुती सेवालाई विस्तार गरेको छ ।

वडाको स्वास्थ्य चौकीसमेत भूगोलको समस्याले टाढा भएपछि बाक्लो बस्ती भएको स्थानमै सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । यसरी इकाई स्थापना गर्दा घरमा हुने सत्केरीको दर ह्वात्तै घटेको स्वास्थ्यकर्मीले बताएका छन् ।

अहिले घर–घरमै सुत्केरी हुने चलन घटेर ९० प्रतिशत महिला स्वास्थ्य संस्थामा जान थालेका छन् । केही सहरी क्षेत्रमा जाने र एकादुई घरमा सुत्केरी हुने तथ्यांक छ । बोङगादोभान स्वास्थ्यचौकी सहित सबै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि घर–घरमै सुत्केरी हुने चलन हटेको छ ।

‘अहिले त घरमा सुत्केरी हुनेहरु नगन्ने छन’ खुंखानी स्वास्थ्यचौकीकी प्रमुख गरिमा हर्मेलले भन्नुभयो ‘एक दुईबाहेक सबै स्वास्थ्य संस्थामा आउने गरेका छन् ।’ गाउँपालिकाले सबै स्वास्थ्यचौकीलाई बर्थिङ सेन्टरका लागि चाहिने पूर्वाधार बनाएपछि यो सहजता भएको हो ।

वडाभित्रै स्वास्थ्यचौकीभन्दा टाढाका बस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा नंं १ को स्याउला, वडा नंं ४ को लामेला, वडा नंं ५ को ठास्पुरी, वडा नंं ६ को भित्रिवन र पात्लेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।

कम्तिमा दुई जना स्वास्थ्यकर्मीको दरबन्दी दिएर गाउँपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी हुने व्यवस्था मिलाएको हो । नियमित गर्भ जाँच गर्नेलाई यातायात खर्च दिएर पालिकाले सुरक्षित सुत्केरी सेवामा आर्कषण गराएको हो ।

‘स्वास्थ्य जाँच गर्दा जटिल हुने अवस्था देखियो भने समयमै सुरक्षित स्थानमा रिफर गरिन्छ’ सामाजिक विकास शाखाकी प्रमुख मुना बिकले भन्नुभयो ‘जटिलता भएर ज्यान जाने अवस्था आजकल रोकिएको छ ।’ यसअघि जटिल समस्या भएपछि हेलिकोप्टर खोजेर सहर जानुपर्ने बाध्यता थियो । लाखौं खर्च हुँदा ग्रामीण बासिन्दाले घरखेत बेच्नुपर्ने बाध्यता अहिले हटेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति २०७८ चैत ६ गते आईतबार ०७:३८
प्रतिक्रिया दिनुहोस्