निसीभूजी जनता क्याम्पस संकटमा- मेयर नेपाली लगायतले धान्याञ्चलमा बोलेको रकम अझै दिएनन्

निसीभूजी जनता क्याम्पस संकटमा- मेयर नेपाली लगायतले धान्याञ्चलमा बोलेको रकम अझै दिएनन्
२०७८ चैत ६ गते आईतबार ०७:५२

बागलुङको पश्चिम ढोरपाटन नगरपालिकामा रहेको निसीभूजी क्याम्पसका प्रध्यापक लगायतका कर्मचारीहरुले विगत १० महिनादेखि तलब बुझ्न पाएका छैनन् । क्याम्पसमा चरम आर्थिक अभाव भएपछि प्रध्यापकहरुले लामो समयदेखि तलब बुझ्न पाएका छैनन् । क्याम्पस...

पैसा नउठ्दा १० महिनादेखि प्रध्यापकले तलब खान पाएनन्

बागलुङको पश्चिम ढोरपाटन नगरपालिकामा रहेको निसीभूजी क्याम्पसका प्रध्यापक लगायतका कर्मचारीहरुले विगत १० महिनादेखि तलब बुझ्न पाएका छैनन् । क्याम्पसमा चरम आर्थिक अभाव भएपछि प्रध्यापकहरुले लामो समयदेखि तलब बुझ्न पाएका छैनन् ।

क्याम्पस सञ्चालानार्थ दुई बर्ष अघि २०७६ सालमा धनधान्याञ्चल गरिए पनि धान्याञ्चलमा बोलिएको रकम दुई बर्ष बितिसक्दा समेत उठ्न सकेको छैन । रकम नउठ्दा क्याम्पसले कर्मचारीहरुलाई १० महिनादेखिको तलब दिन सकेको छैन ।

धान्याञ्चलमा बोलिएको मध्ये करिब ७६ लाख रुपैयाँ उठ्न बाँकी रहेको एक श्रोतले बतायो । त्यतिनै मात्रामा उठेको रकमले केही समय तलब खुवाए पनि पुनः पैसाको अभाव सृजना भएपछि तलब बुझ्न नपाएको एक प्रध्यापकले बताए ।

धान्याञ्चलमा सबै भन्दा बढि रकम ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बोलेका थिए । उनले नगरपालिकाको तर्फबाट २० लाख रुपैयाँ सहयोग गर्ने बताएका थिए । त्यो बाहेक व्यक्तिगत रुपमा २१ लाख रुपैयाँको अक्ष कोष बनाउने बताएका थिए । हालसम्म यी दुबै रकम क्याम्पसले प्राप्त गर्न सकेको छैन ।

धान्याञ्चलमा नगरपालिकाको तर्फबाट बोलेको २० लाख रुपैयाँ पनि अझै बुझाएका छैनन् भने अक्ष कोषको बारेमा समेत केहि अत्तोपत्तो नभएको एक श्रोतले बतायो । धान्याञ्चलमा उठ्न बाँकी रकम मध्ये यो सबैभन्दा ठूलो रकम हो ।उठ्न बाँकी रकम पटक–पटक ताकेता गरेता पनि दिने चासो कसैले पनि गरेका छैनन् ।

क्याम्पसका ३० जना कर्मचारीले तलब पाउन सकेका छैनन् ।तलबमा मात्र मासिक झण्डै चार लाख रुपैयाँ खर्च हुने गर्दछ । यहि हिसाबले १० महिनाको ४० लाख रुपैयाँ तलब खुवाउन बाँकी रहेको क्याम्पस श्रोतले बतायो ।

विद्यार्थीहरुबाट मात्र लिईने शुल्कले तलब खुवाउन नपुग्ने हुँदा क्याम्पस सञ्चालनको लागि धनधान्याञ्चल महायज्ञ गरिएको थियो । धन धान्याञ्चल महायज्ञमा बोलिएको रकम समेत नउठ्दा प्रध्यापक लगायतका अन्य कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।

प्रध्यापकहरुले एक शेसन पढाएको ४ हजार रुपैयाँ तलब पाउने गर्दछन् । गाउँमै क्याम्पस रहेपनि कुनै पनि सरकारको सहयोग नपाउँदा क्याम्पस सञ्चालनमा संकट उत्पन्न भएको छ । आर्थिक अभाव हुँदा क्याम्पसका अन्य गतिबिधि समेत बन्द भएका छन् ।

क्याम्पस सञ्चालनको लागि ढोरपाटन नगरपालिकाले एक बर्ष मात्र आर्थिक सहयोग गरेपनि पछिल्ला बर्षहरुमा कुनै पनि खालको सहयोग गरेको छैन ।

प्रकाशित मिति २०७८ चैत ६ गते आईतबार ०७:५२
प्रतिक्रिया दिनुहोस्