बागलुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक व्यावस्थामा हतियार भनेको जनताको मत भएको बताउनुभएको छ । गठबन्धन दलका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले जनताले सानोतिनो लोभ लालचमा लागेर आफ्नो मतलाई बेचे अपराध हुने उहाँको भनाई थियो ।
केहि दिन पहिले पहिलो पटक बागलुङ ढोरपाटन पुगेका मुख्यमन्त्री पोखरेलले ढोरपाटन क्षेत्र निकै सुन्दर रहेको र अझै पनि पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाउन सके अझै पर्यटन आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले गठबन्धन टिक्ने कुरामा शंका नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ढोरपाटनमा बन्ने भनेको उत्तरगंगा जलासययुक्त हाईड्रो पावर मिलाएर लग्न सके स्थानिय जनतालाई नै फाइदा हुने समेत बताउनुभएको थियो । मुख्यमन्त्री सहितको टोली बागलुङ विभिन्न कार्यक्रममा सहभागि बन्नुभएको थियो ।
गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले ढोरपाटन क्षेत्रमा पुग्ने पर्यटकले ढोरपाटनको चिनो स्वरुप यहाँका स्थानिय स्तरमा उत्पादित विभिन्न बस्तुलाई ब्रन्ड बनाउन सके ढोरपाटन क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै ढोरपाटन क्षेत्रको विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताउनुभयो ।
यस्तै कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले अहिलेको गठबन्धनलाई प्रबृतिको बिरुद्धमा लड्नको बनाईएको र यसलाई एतिहासिक बनाउन आग्रह गर्नुभयो । मन्त्री सागरले सालझन्डी ढोरपाटन सडकमा ठेकेदारले समयमै काम नसक्दा ढोरपाटन क्षेत्रको विकासमा असर परेको उल्लेख गर्नुभयो । मन्त्री सागरले प्रदेश सरकारले ढोरपाटन नगरपालिकामा १ करोड ८० लाख बराबरको जस्तापाता पठाएको तर कसैले व्याक्तिगत लगानीमा बाँडेको भन्दै भ्रम फैलाएको भन्दै त्यसको आलोचना समेत गर्नुभएको थियो ।
खरका छाना भएका गरिब दिन दुखीलाई दिनेभनी गण्डकी प्रदेशबाट ढोरपाटनमा जस्तापाता आएको तर कुनै व्यक्तिले आफ्नो स्वार्थको लागि वास्तविक गरिब भन्दा बाहिर,आफन्त,कार्यकर्ता लगायतलाई बाँडिरहेको भन्ने सुन्नमा आएको उहाँको भनाई थियो । केहिलाई मात्र प्रदेश सरकारबाट आएको हो भन्ने थाहा भएको तर अधिकांश नगरवासीहरुलाई यो कुरा थाहा नभएको जनाईएको छ । आफँ बागलुङका जनताका साथमा रहेको जनाउदैँ आफ्नो र प्रदेश सरकारको तर्फबाट जनताकै पक्षमा काम गर्ने बताउनुभएको थियो ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा स्थानीय तहको निर्वाचन निकै रोचक बन्ने देखिएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनको तयारी स्वरुप नेकपा एमाले बाहेकका दलहरु एकवद्ध भएर अगाडी बढ्ने गरि संयुक्त कार्यक्रम गरिरहेका छन् ।
विगत केहि महिनादेखि निरन्तर छलफल र ढोरपाटन नगरपालिकाले गरिरहेका गलत प्रवृत्तिको विरोधमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनसम्म समन्वय गरेर अगाडि बढ्ने भएका हुन । निरन्तर छलफलमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी लगायत दलको गठवन्धन गरी निर्वाचनसम्म जाने विषयमा निरन्तरको छलफल पश्चात सयुक्त रुपमा कार्यक्रम भैरहेका छन् ।
आयोजित अधिकाशं कार्यक्रममा ढोरपाटन नगरपालिका नगर प्रमुखले आफ्नो व्यक्तिगत भनि बाडेको जस्तापाता र पाईपको कुरा उठ्ने गरेका छन् । स्थानिय नागरिकहरुले समेत केहिले गण्डकी प्रदेशबाट आएको भन्ने गरेको केहिले मेयरले दिएको भन्ने गरेका छन् । अधिकाशं कार्यक्रममा स्थानिय नागरिककै जिज्ञासा अनुसार जस्तापाता र पाईपको चर्चा भएको जनाईएको छ । गठवन्धनमा आवद्ध दलका नेताले भने जस्तापाता र पाईप नगरपालिकाबाट खरिद गरिएको तर नगर प्रमखु नेपालीले आफुखुशी बाडिरहेको आरोप लगाईरहेका छन् ।

















