प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग पारित गर्नुपर्ने बारको चुनावी एजेण्डा

प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग पारित गर्नुपर्ने बारको चुनावी एजेण्डा
२०७८ चैत १२ गते शनिवार ०७:५५

बागलुङ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुपर्ने एजेण्डासहित बारका दुई पक्ष मैदानमा उत्रेका छन् । चैत १९ गते हुने नेपाल बार एसोसिएसनको आसन्न महाधिवेशनमा होमिएका दुबै प्यानलले महाअभियोग...

बागलुङ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुपर्ने एजेण्डासहित बारका दुई पक्ष मैदानमा उत्रेका छन् ।

चैत १९ गते हुने नेपाल बार एसोसिएसनको आसन्न महाधिवेशनमा होमिएका दुबै प्यानलले महाअभियोग पास गर्नुपर्ने धारणा राखेका छन् । माउ पार्टीहरु महाअभियोग र काउन्टर महाअभियोगको तयारीमा जुटेपनि कानून व्यवसायीले भने चोलेन्द्र शमशेर राणा अदालत फर्केर आउन नहुने साझा धारणा राख्न थालेका हुन् ।

नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा कांग्रेस निटक वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको अगुवाइमा बृहत लोकतान्त्रिक प्रगतीशील समावेशी समूह भन्दै उमेदवारी दिएका छन् । त्यस्तै एमाले निकट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा अर्को उमेदवारी छ । उनीहरुले प्रगतीशील तथा पेशागत कानून व्यवसायी समूह बनाएका छन् । दुवै समूहले न्यायालयमा भ्रष्टाचार अन्त्यको नारा लगाएका हुन् ।

‘राणा फर्केर आए अदालतमा बहस गर्दैनौं, उमेदवार भएर मात्र हैन, बारमा पुग्दा पनि यो एजेण्डा स्थापित गर्छौ’, अधिकारी प्यानलका महासचिव उमेदवार केदारप्रसाद कोइरालाले भने,‘भोट हाल्दा दलगत भएपनि पेशागत रुपमा राणाबाट अदालतमा भ्रष्टाचार भित्रियो भन्ने बुझाइ सबैको छ ।’ माउ पार्टी एमालेले महाअभियोगमा साथ नदिएको, काउन्टर महाअभियोग लगाउने चर्चा चलेको भन्ने टिप्प्णीमा कोइराला प्रष्टिकरण दिँदै थिए ।

उता घिमिरे प्यानलले पनि अदालतसँगै बारमा रहेको विकृति अन्त्य गर्ने बताएका छन् । उनले आफ्नो प्यानलको मत माग्न आएको बेला बागलुङ, पर्वत र म्याग्दीका कानून व्यवसायीसँग कालोकोटमा लागेको दाग मेटाउने बताए । ‘प्रधानन्यायाधीशविरुद्धको महाअभियोग पास हुनैपर्छ’, घिमिरेले भने, ‘देशको न्यायपालिकामा विचलन आउँदा बार टुलुटुलु हेर्न मिल्दैन ।’

बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले उमेदवारको रुपमा जो आएपनि सुशासन, कानूनी शासनको स्थापना र आम नागरिकलाई न्याय दिने नेतृत्व चाहिएको बताए । देशभरका कानून व्यवसायीको प्रत्यक्ष मतदानबाट १९ गते नयाँ नेतृत्वकालागि मतदान हुनेछ । उपत्यका बाहिर अदालत र कानून व्यवसायी छन् भन्ने मान्यता बारले नराखेको समेत अधिवक्ताहरुले टिप्पणी गरे ।

देशभरका कानून व्यवसायीले २५ सदस्यीय केन्द्रीय बार चयन गर्नेछ । अधिकारी प्यानलमा महासचिव कोइराला र कोषाध्यक्ष जगतबहादुर राउत तथा गण्डकी उपाध्यक्षमा भूपेन्द्र खनाल छन् । घिमिरे प्यानलमा महासचिव अन्जिता खनाल, कोषाध्यक्षमा भरतबहादुर राउत र गण्डकी उपाध्यक्षमा वीरेन्द्र केसी छन् ।

प्रकाशित मिति २०७८ चैत १२ गते शनिवार ०७:५५
प्रतिक्रिया दिनुहोस्