ताराखोला- जनताका कार्य सम्पादन गर्दा संघियताको बुझाई कमी भएको गण्डकी प्रदेशका भुमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढामगर सागरले बताउनुभएको छ ।
ताराखोला गाँउपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री बुढामगरले संघियताको बुझाई कमी भएपनि जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी भएर नै विकास निर्माण सम्भव भएको बताउनुभयो ।
उहाँले नवनिर्मीत भवन निर्माण सम्पन्न गर्न अहोरात्र खटिने जनप्रतिनिधि कर्मचारी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सुशासन रहित सेवा तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अगाडि बढ्न कर्मचारी तथा जनप्रतिनिधि हरुलाई आग्रह गर्नु भएको थियो ।
प्रशासकीय भवनको निशान आचार्य विके जेभि बागलुङले मिति २०७७ असार २० मा ५ करोड १० लाख ४ हजार ७ सय १० रुपैयाँ ६९ पैसामा निर्माण गर्ने सम्झौता गरी काम सुरु गरेको थियो । कम्पनीले निर्माण सम्झौता भएदेखि भवन निर्माण सुरु गरेको प्रशासकीय भवन मिति २०७८ चैत्र २ गते निर्माण सम्पन्न गरेको थियो । भवन गण्डकी प्रदेश सरकारको ६० प्रतिशत २ करोड ८२ लाख ३६ हजार ९ सय ३२ रुपैयाँ २० पैसा र ताराखोला गाउँपालिका को ४० प्रतिशत १ करोड ८८ लाख २४ हजार ५ सय २१ रुपैयाँ ५० पैसाको लागतमा निर्माण सम्पन्न गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रदेश सांसद दिलमाया रोका दीपा, गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुन रोका, ताराखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष याम बहादुर श्रीस, नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले गण्डकी प्रदेश सदस्य टेक बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र ताराखोला गाउँपालिकाका अध्यक्ष पदम खत्री दिवस, जनता समाजवादी पार्टी ताराखोलाका अध्यक्ष याम बहादुर घर्ती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अवसरमा निर्माण सम्झौता भन्दा अगाडिनै भवन निर्माण सम्पन्न गरेको भन्दै निशान आचार्य विके जेभि बागलुङलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर विकको स्वागत तथा प्रशासकीय अधिकृत प्रकाश गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।










