बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा स्थानीय तहको निर्वाचन रोचक बन्ने निश्चित भएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनको तयारी स्वरुप नेकपा एमाले बाहेकका दलहरु एकवद्ध भएर बिभिन्न स्थानमा पहिलो चरणको कार्यक्रम सम्पन्र्न गरेका छन् ।
ढोरपाटन नगरपालिकाले गरिरहेका गलत प्रवृत्तिको विरोधमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनसम्म समन्वय गरेर अगाडि बढ्ने गरि दोस्रो चरण वडाका टोलटोलमा समेत अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणात्मक कार्यक्रम गर्न सुरु गरिसकेका छन् । यस्तै आज ढोरपाटन ६ को चामीद्धार टोलमा कार्यक्रम सम्पन्र्न भएको नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि गोपाल महतले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र नेकपा क्रान्तीकारी गरी ६ दलको गठवन्धन रहेको छ । नेकपा एकिकृत समाजवादी पार्टीका हरि बहादुर घर्तिको अध्यक्षता रहेकोे कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट गण्डकी प्रदेश सदस्य तथा माओवादी केन्द्र ढोरपाटन नगर संयोजक चन्द्रलाल अर्याल,राजमोका केन्द्रिय सदस्य गौरिश्वर पाण्डे, नेकपा क्रान्तीकारीका केन्द्रिय सदस्य निल बहादुर पुन, नेपाली काँग्रेस जिल्ला उप सभापति सागर छन्त्याल, जसपाका जिल्ला उपाध्यक्ष गंग बहादुर घर्ति,माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष भिम गौतम,राजमो नगर अध्यक्ष दिपक थापा, नेपाली काँग्रेस ढोरपाटन नगर अध्यक्ष कल्याण कायत र महिला तथा दलितको तर्फबाट दिलमायाँ पौवी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले ढोरपाटन नगरपालिकामा नगरप्रमुख देवकुमार नेपालीले राज्यको तर्फबाट प्राप्त सम्पत्ती माथि पार्टी अनुकुल दोहन गर्ने गरेको, स्थानीय तह सञ्चालनको पद्धति र विधि बाहिर गएर मनोमानी गरेको, नगरपालिकाबाट जनताले आवश्यकताका आधारमा पाउनुपर्ने सेवा सुविधा लिँदा जवरजस्ती पार्टी प्रवेश गर्न बाध्य पारेको लगायतका कारण आफुहरु जनताको न्याय र स्थानीय तहमा हाल भइरहेको गलत प्रवृत्तिलाई रोक्नका निम्ति गाउँ गाउँमा आएको बताएका थिए ।
नगर प्रमुखको अत्याचारको विरुद्ध आफुँहरु एक ढिक्का भएर निर्वाचनमा होमीएको बताउदैँ उनीहरुले क्षणिक लोभ लालचमा नपर्न आम कार्यकतालाई आग्रह गरेका थिए । ५ वर्षको अवधिमा कुनै पनि काम राम्रो नगरेको बताउदैँ अनावश्यक लोभ देखाई सोझा साझा जनतालाई झुक्याउने गरेको आरोप समेत लगाएका थिए । कार्यक्रमको सञ्चालन भने माओवादी केन्द्रका गोपाल महतले गर्नुभएको थियो ।










