बागलुङ बजारमा बस्ने अन्दाजी १६-१७ वर्षका एक युवा एक विद्यालयमा पढ्छन् । उनी क्षयरोगका बिरामी हुन् । लक्षण देखिएपछि उनको परिवारले उपचारको खोजी गर्यो । नजिकैको धौलागिरि अस्पतालमा क्षयरोगका बिरामीको लागि प्रत्यक्ष निगरानीमा निःशुल्क उपचार गर्ने व्यवस्था छ । तर ती युवा सरकारले उपलव्ध गराएको निःशुल्क उपचार र औषधि छोडेर निजी स्वास्थ्य संस्थाबाट सेवन गर्दै आएका छन् ।
हाल उनको उपचार पोखराको एउटा निजी अस्पतालमा भइरहेको छ । ६ महिना नियमित खाने औषधि उनले सरकारी स्वास्थ्य संस्थाभन्दा बाहिरबाट लिन्छन् र आफ्नै तरिकाले अस्पताल आउजाउ गर्छन् ।
उनीजस्तै बजारका अरु पनि क्षयरोगको उपचारका लागि जिल्ला बाहिरका निजी अस्पतालमा पुग्ने गरेका छन् । क्षयरोगको संक्रमणपछि जिल्ला बाहिर बिरामीले उपचार गर्दैछन् भन्ने तथ्यांक भने यहाँका सरकारी निकायसँग छैन । सदरमुकाममा रहेको सरकारी अस्पताल र गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा उपचार सेवा हुँदाहुँदै बाहिरी जिल्लामा बिरामी उपचारका लागि पुग्नुको मुख्य कारण सामाजिक बहिष्करण, लान्छना र दुव्र्यवहार हो ।
‘बिरामीमा लक्षण हुन्छ, क्षयरोग लागेको पत्ता पनि लाग्छ तर नियमित औषधि सेवन गर्दा रोग लागेको थाहा लाग्दा समाजले गर्ने व्यवहारका कारण उनीहरु रोग गोप्य राख्छन्,’ बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल भन्छन्, ‘कम उमेरका युवायुवती र सम्पन्न परिवारका वयस्क पनि उपचारका लागि अन्यत्र जाने गरेका छन् ।
क्षयरोगको संक्रमणपछि निजी अस्पताल तथा स्वास्थ्य संस्थामा भएपनि उपचार गराउनेभन्दा रोगको पहिचान गर्दा सामाजिक लान्छना आउँछ कि भनेर तर्सिने कारण बागलुङमा क्षयरोग फैलिएको उनको भनाइ छ । समाजलाई सचेत बनाउने र क्षयरोगका लक्षण देखिएकालाई उपचारमा ल्याउने वातवरण बनाउनुपर्ने खनाल बताउँछन् ।
‘गाउँभन्दा सहरमा रोग लुकाउने समस्या बढी छ । यो क्षयरोग नियन्त्रणमा चुनौती बनेको छ,’ स्वास्थ्य शाखाका उपप्रमुख डिल्ली आचार्यले भने, ‘एक जना संक्रमितले १० जनालाई रोग सार्न सक्छ, हामी सचेत बनौं, क्षयरोगीलाई सामाजिक दुव्र्यवहार होइन उपचार गरौं ।’
बागलुङ नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि सदरमुकाममा धौलागिरि अस्पतालको सेवा क्षेत्रबाहेकका १० वटै वडामा क्षयरोग परीक्षण गर्ने गरेको छ । बागलुङमा ९७ क्षयरोगी पत्ता लागेका छन् । गत वर्ष १६६ र त्योभन्दा अघिल्लो वर्ष १४६ क्षयरोगी भएको पत्ता लागेको तथ्यांक छ । अहिले औषधि प्रयोग गरिरहेकामध्ये सबैभन्दा धेरै बडिगाड गाउँपालिकाका ४७ बिरामी छन् भने बागलुङ नगरपालिकामा क्षयरोगका नौ बिरामी रहेका छन् ।
क्षयरोग भएकाले रोग लुकाउने गरेका कारण नियन्त्रणमा समस्या भइरहेको बागलुङका क्षयरोग तथा कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । क्षयरोग भएका व्यक्तिले दुई हप्ता लगातार औषधि प्रयोग गरेपछि अरुलाई सर्दैन भने ६ महिना निरन्तर औषधि सेवन गरे रोग निको हुन्छ ।
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले लाग्ने गरेको चिकित्सकहरुले बताएका छन्। यसले फोक्सोमा सबै भन्दा चाडो आक्रमण गर्नुका साथै शरीरका अन्य भागहरूमा पनि असर गर्न सक्दछ।
क्षयरोग लागेका कुनै पनि व्यक्तिमा यसका किटाणु सक्रिय छन् भने उसले श्वास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने छिटाको माध्यमबाट हावामा फैलिएर अन्य व्यक्तिमा सर्ने गर्दछ। विश्वको एक तिहाई जनसंख्या यसका किटाणुको संक्रमणको जोखिममा रहेको चिचित्सकहरुले बताउने गरेका छन्।
३ हप्ता वा त्यो भन्दा बढि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, थकान बढी महसुस भएमा क्षयरोगका लक्षण हुन सक्ने चिकित्सकले बताएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति वर्ष विश्वमा एक करोड नयाँ क्षयरोगका विरामी थपिरहेका छन् भने १६ लाख व्यक्तिले यसकै कारण ज्यान गुमाइरहेका छन्।
तर नेपालमा भने राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत व्यक्तिलाई क्षयरोग भएको पाइएको छ। हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगी बर्सेनि मृत्यु हुने गरेको छ।
क्षयरोगीहरुको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४ हजार ३ सय भन्दा बढी स्वास्थ्य सेवा केन्द्रहरु रहेका छन् । जहाँ क्षयरोगको उपचार निशुल्क हुँदै आएको छ ।
नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत फोक्सो कै क्षयरोग हुने गरेको छ भने अन्य ग्रन्थी, हड्डी, पेट, मृगौला, मस्तिष्क, पाठेघर, कलेजो आदिको हुने गरेको पाइएको छ।










