बागलुङको तमानखोला–६ मा सधैं सर्वसम्मतिमा जनप्रतिनिधि चयन

बागलुङको तमानखोला–६ मा सधैं सर्वसम्मतिमा जनप्रतिनिधि चयन
२०७८ चैत २८ गते सोमबार ०८:१६

२०७४ को स्थानीय निर्वाचनमा बागलुङको तमानखोला गाउँपालिका–६ मा निर्वाचन भएन । स्थानीयले भेला बसेर निर्विरोध वडाध्यक्ष र सदस्य चुने । निर्वाचनको दिन उनीहरूले वडा ६ बाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गरे ।...

२०७४ को स्थानीय निर्वाचनमा बागलुङको तमानखोला गाउँपालिका–६ मा निर्वाचन भएन । स्थानीयले भेला बसेर निर्विरोध वडाध्यक्ष र सदस्य चुने । निर्वाचनको दिन उनीहरूले वडा ६ बाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गरे । यसपालि पनि स्थानीय सर्वसम्मत नेतृत्वका लागि छलफल गरिरहेका छन ।

गएको निर्वाचनमा वडामा कांग्रेसबाट अध्यक्षमा कुलबहादुर छन्त्याल र सदस्यमा लोकबहादुर छन्त्याल, माओवादीबाट थमप्रकाश रसाइली तथा निर्मला विक र एमालेका तर्फबाट मैनदेवी छन्त्याल सदस्यमा निर्विरोध हुनुभएको थियो । वडाभित्रको मतभारका आधारमा पद विभाजन गरिएको थियो । त्यसअघि १५ वर्षसम्म जनप्रतिनिधि नहुँदा पनि अध्यक्ष र सदस्य तोकिएको थियो । उनीहरूले त्यति बेला सामाजिक क्षेत्रका काम गर्थे । अध्यक्ष भने कुलबहादुर नै हुनुहुन्थ्यो । ‘मैले लगातार २० वर्ष काम गरें,’ उहाँले भन्नुभयो, ‘अब भने मलाई बस्ने मन छैन, नयाँ नेतृत्वका लागि छलफल हुँदै छ ।’

उहाँले युवालाई नेतृत्वमा ल्याउने तयारी रहेको जानकारी दिनुभयो । मिलेर काम गर्दा सफल भएको उहाँको अनुभव छ । अहिलेको वडा नं ६ स्थानीय तहको संरचनामा जानुअघि खुंखानी गाविस थियो । २०५४ मा खुंखानीमा कर्मबहादुर छन्त्याल अध्यक्ष र हिरामान विक उपाध्यक्षमा निर्विरोध चुनिनुभएको थियो । २०४९ को स्थानीय निर्वाचनमा पनि जंगबहादुर छन्त्याल अध्यक्ष र हिरामान विक उपाध्यक्षमा सर्वसम्मत छानिएका थिए । ‘बाबु बाजेको पालामा गाउ ँभेलाबाटै अध्यक्ष÷प्रधानपञ्च तोक्ने चलन थियो,’ ५५ वर्षीय कुलबहादुर छन्त्यालले भन्नुभयो, ‘अहिले सम्म निर्वाचन भएको मलाई थाहा छैन ।’

वडा नं ६ मा नर्जाखानी, भित्रीवन र पात्ले गरी ३ वटा बस्ती छन । तीनवटै वस्तीमा बर्थिङ सेन्टर सहितको सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ । वडाकै बजेटमा सामुदायिक स्वास्थ्य इकाइमा महिला स्वास्थ्यकर्मी राखेर उपचार र सेवा प्रवाह भइरहेको स्थानीय थमप्रकाश छन्त्यालले बताउनुभयो । वडाकै बजेटमा पालिका र भूकम्प पुनर्निर्माण प्राधिकरणको बजेट मिलाएर विद्यालय भवन बनाइएका छन ।

गाउँमा बालविवाहविरुद्ध अभियान चलेको छ । वडाध्यक्ष कुलबहादुरले कर्मचारीले स्थानीय तह सञ्चालन गरेका आफूहरू सामाजिक क्षेत्रमा बढी केन्द्रित भए पनि पाँच वर्षयता सडक, स्वास्थ्यचौकी, खानेपानी जस्ता विकासका काम गर्न पाएको बताउनुभयो । ‘अहिले केही रकम वडालाई नै तोकिएर आउँछ, त्यसैले विकास गर्न सम्भव भयो,’ उहाँले भन्नुभयो ‘टोलसम्म स्तरीय सडक बनेका छन ।’

यसअघिका जनप्रतिनिधिले स्वयंसेवा गरेका थिए, अहिले तलब तोकिएको छ । तलबका कारण कतिपयले निर्विरोधको चलन हटाउनुपर्ने धारणा राख्न थालेका छन । बूढापाकाले भने यो पटक पनि निर्विरोध जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिइरहेका छन । कान्तिपुर

प्रकाशित मिति २०७८ चैत २८ गते सोमबार ०८:१६
प्रतिक्रिया दिनुहोस्