बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका स्थानीयले काम गरेर भुक्तानी पाउन सकेका छैनन् । ठेकेदारले काम लगायो तर लाखौं रुपैयाँ बाँकी हुँदासम्म उनीहरुले भुक्तानी पाएनन् । काम सकेपछि ठेकेदार एकाएक बेपत्ता भए । पीडितले भने भुक्तानी नपाएपछि पटक पटक वडामा पहल गरिदिन माग गर्न थालेका छन् ।
भवन बनेको डेढ वर्षसम्म पनि रकम नपाएपछि मजदुरहरु मारमा परेका हुन् । भुक्तानी नपाउनेमा डकर्मी र सिकर्मी काम गरेकाहरु छन् । स्थानीय उमेश बिकले चार महिनासम्म काम गरेको रकम पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले काम गरेको कमाइबाटै परिवार पाल्नु पर्नेले लाखौं रकम नपाएर हैरानी खेपेको बताउनुभयो । दैनिक काम गरेर परिवार पाल्नुपर्नेलाई ठेकेदारले ठगेको उहाँको गुनासो छ ।
काम गरिरहेको बेला रकम नदिंदा बिकले ऋण खोजेर छाकको जोहो गरेका थिए । ‘काम गरेको आउला भन्दै उधारोमा दाल चामल खाइयो, अहिले पैसा नपाएर बर्बाद भयौं’ अर्का मजदुर कुमारी श्रीषले भन्नुभयो ‘दैनिक कमाएर खानुपर्छ, तीनचार महिनाको खाडल पुर्नै सकिएन ।’ उनीहरुले ढुंगा बोक्ने, काठ, सिमेन्ट तथा गाह्रो लगाउने काम गरेका थिए ।
२०७३ सालको जेठ १२ गते निर्माण थालेपनि ठेकेदार कम्पनी रबिना कन्ट्रक्सनले काम अलपत्र पारेको थियो । स्थानीय र जनप्रतिनिधिको दबावले ठेकेदार रबिन जोशीले सहायक ठेकेदारको रुपमा बसन्त केसीलाई पठाएका थिए । बसन्तले स्थानीयलाई मजदुरको रुपमा काममा लगाएर भुक्तानी नदिएका हुन् ।
केसीले भने मुख्य ठेकेदारले रकम नदिएकोले मजदुरलाई वितरण गर्न नसकेको बताउनुभयो । केसीले २०७६ को चैत र कोरोना नियन्त्रण भएपछि २०७७ को असार साउन महिनामा काममा लगाएर भवन बनाएका थिए ।
वडा अध्यक्ष तिलक घर्तीले पनि स्थानीय पीडित भएको बताउनुभयो । ‘हामीले नै पहल गरेपछि ठेकेदारले केसीलाई पठाएर काम लगाएका थियौं, तर काम सकेर हिंडेका केसीले पनि केही पाएको छैन भन्दै उम्केका छन’ घर्तीले भन्नुभयो ‘हामीले निरन्तर पत्राचार गरिरहेपनि ठेकेदार कम्पनीले भवन समेत हस्तान्तरण गरेको छैन ।’ एकदुइ पटक प्रहरीमा समेत लगेर पैसा तिर्ने सहमति गरेपछि फेरी ठेकेदार सम्पर्क बिहिन भएको घर्तीले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको १ करोड ७७ लाख रुपैयाँमा पाण्डवखानी स्वास्थ्य चौकी निर्माण भएको थियो । गत भदौमा पनि वडा अध्यक्षले ठेकेदार जोशीलाई भेटेर रकम दिन दबाव दिएका थिए । प्रहरीमा समेत पुगेर लिखित गरेका जोशी पटक पटक सम्पर्कबाट भाग्ने गरेका हुन् । स्थानीयका अनुसार यहाँका ५५ जना मजदुरले १५ लाख ५० हजार रकम पाउन बाँँकी छ । त्यस्तै नजिकका पसल र होटलमा खाएको समेत हजारौं रकम बाँकी रहेको गुनासो बढेको छ ।
यसअघि बुंगादोभान स्वास्थ्यचौकी निर्माण गर्दा पनि ठेकेदारले रकम नदिएपछि स्थानीय पीडित भएका थिए । गाउँपालिका अध्यक्षको पहलमा ठेकेदारबाट रकम असुल गरेर बितरण भएको थियो । पाण्डवखानीका बासिन्दाले पनि पटक पटक वडा अध्यक्षको कार्यकक्षमा पुगेर रकम असुल गरिदिन माग गरिरहेका छन् । ‘धेरै जना आएर गुनासो गरिरहनुहुन्छ, खोजी भएको छ, तर रकम दिन सकिएन’ घर्तीले भन्नुभयो, ‘हामीले खोजी गरिरहेका छौं, तर उजुरी परेकोले प्रहरीले उनको खोजी गर्नुपर्छ ।’
लामो समयसम्म भवन नबन्दा स्वास्थ्य चौकी संचालनमा समेत समस्या थियो । भवन बनेपछि संचालनमा आए पनि रकम फरफारक गर्ने, भएको खर्च व्यवस्थापन गर्ने काममा ठेकेदार नआएको उहाँले बताउनुभयो । ठेकेदार नआएकोले भवनको औपचारिक हस्तान्तरण समेत भएको छैन ।











