बाम गठबन्धनको गन्ध देखिएकाले निश्कर्षमा पुग्न नसकिएको काँग्रेसको भनाई
स्थानीय तह निर्वाचनका लागि बागलुङका पाँच दलबीचको गठबन्धन वार्ता अझै अन्योलमा परेको छ । गत दुई सातादेखि जिल्ला स्थित पाँच दलीय शीर्ष नेतृत्वबीचको बार्ता फलदायी नभएको उनीहरुले बताए ।केन्द्रमा रहेको सत्ता गठबन्धनमा रहेको दलहरु नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच भइरहेको छलफल ले तालमेलको निश्कर्ष निकाल्न नसकेको हो ।
नेपाली कांग्रेसले केन्द्रीय गठबन्धन तालमेलको आधार अनुसार ठूलो दलको ‘दम्भ’ देखाउँदै आएको र अन्य दलले पनि सोही अनुसार सम्मानजनक उपस्थिति खोजिरहेकाले वार्ता टुंगोमा पुग्न नसकेको वार्तामा सहभागी एक नेताले बताएका छन् । सबै सकिएको भन्ने होईन अझै वार्ता र सम्वाद हुन्छन् तर यही अवस्थामा निष्कर्षमा पुग्न नसकिने उनले बताए ।
काँग्रेसले ०७४ सालमा प्राप्त मतलाई आधार मानेर छलफल गर्ने मापदण्ड रहेको जिकिर गरेको छ । यस्तै गठबन्धन घटक राष्ट्रिय जनमोर्चा त्यसपछिको पार्टीको आधिकारिक समानुपातिक मतका आधारमा छलफल र निचोडमा पुग्नुपर्नेमा जोड दिएको छ । जनमोर्चाका अनुसार ढोरपाटन र जैमिनी नगरपालिकामा आफ्नो दावी रहने अडान राखेको छ । विगतको समानुपातिक मतका आधारमा दावी रहेको जनमोर्चाले जनाएको हो ।
जैमिनीमा झिनो मतले पराजय भएको जनमोर्चाले समानुपातिक मतलाई आधार मान्दा पहिलो पार्टि भनेर दाबी गर्दै आएको छ । तर कांग्रेसले स्थानीय तहको निर्वाचनमा मेयर जितेकाले दिन नसक्ने बताएपछि वार्ताले सार्थकता नपाएको बुझिएको छ । जिल्लामा गठवन्धको चुनावी तालमेल अझै अन्योलमा रहेका कारण बाम गठबन्धनको चर्चा समेत सुरुभएको छ । विगतको जस्तै मनमा ‘बाम’ र बाहिर नयाँ गठबन्धन भएकाले पनि वार्ताले गति लिन नसकेको काँग्रेस नेताहरुले बताएका छन् ।
बागलुङमा जैमिनी नगरपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका काँग्रेसले जितेको पालिका हो । २०७४ को आधारमा जहाँ जस्को छ, त्यहाँ त्यही पार्टिको दावी रहने केन्द्रको सर्कुलर अनुसार छलफल भइरहेको र गठबन्धनमा रहेका दलबाट ति स्थानमा समेत दावी रहेपछि वार्ता निष्कर्षमा नपुगेको बताइएको छ । काँग्रेको मेयर रहेको जैमिनीमा जनमोर्चाको दावी र काँग्रेसले नै जितेको गलकोटमा माओवादी केन्द्रको दावी भएपछि वार्ताले सही मोड लिन नसेको बताइएको छ ।
काँग्रेसले विगतमा आफूहरुले जितेको पालिका छाड्ने मानसिकतामा देखिन्न भने, काठेखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकामा समेत दावी रहेको बताउँदै आएको छ । काँग्रेसले आफूले जितेको पनि नछाड्ने र अन्य स्थानमा समेत दावी गरेपछि वार्ता भाँडिएको वार्तामा सहभागी माओवादी नेताले बताएका छन् ।










