जागिर छाडेर सगरमाथा टेक्ने पहिलो नेपाली दृष्टिविहीन बन्ने केसीको धोको

जागिर छाडेर सगरमाथा टेक्ने पहिलो नेपाली दृष्टिविहीन बन्ने केसीको धोको
२०७९ बैशाख ८ गते बिहिबार ०४:४९

पूर्ण रूपमा दृष्टिविहीन रहेका बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका अमिट केसी उमेर गन्ती गर्दा ३५ वसन्त पार गरे।परिवार पाल्नको लागि प्रावि तहको राहत दरबन्दीमा शिक्षकको रूपमा काम गरिरहेका उनले नौ वर्ष अगाडि नै जागिर छाडिदिए। कारण...

पूर्ण रूपमा दृष्टिविहीन रहेका बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका अमिट केसी उमेर गन्ती गर्दा ३५ वसन्त पार गरे।परिवार पाल्नको लागि प्रावि तहको राहत दरबन्दीमा शिक्षकको रूपमा काम गरिरहेका उनले नौ वर्ष अगाडि नै जागिर छाडिदिए।

कारण थियो-सगरमाथा चढ्ने। सगरमाथा आरोहण गर्ने नेपालको पहिलो र विश्वको दोस्रो भएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नेपालको नाम थप्न चाहेका उनको सपना भने अझै पूरा हुन पाएको छैन। नौ वर्षदेखि सपनामा पनि सगरमाथाको चुचुरोको देख्ने गरेका उनको धोको गत वर्ष पूरा हुने लयमा रहेको भए पनि कोभिड–१९ संक्रमणको जोखिमका कारण उनको सपना फेरि सपनामै सीमित रह्यो।

‘सन २०२१ मा मेरो नौ वर्षदेखिको सपना पूरा हुने क्रममा थियो, भाग्यले साथ दिएन भन्दा पनि हुन्छ।  होला कोरोनाको जोखिमले गर्दा सगरमाथा आरोहण बन्द भयो’, केसीले भने, ‘अब यसपालिको तेस्रो पटकको मेरो तयारीमा मेरो आरोहण पूरा हुन्छ र सगरमाथा शिखरमा पुग्ने पहिलो नेपाली दृष्टिविहीनको नाममा मेरो रहन्छ भन्नेमा विश्वस्त छु।’

सगरमाथाको सफल यात्राकै लागि उनले २०७२ वैशाख आठमा सोलुखुम्बु जिल्लामा रहेको छ हजार एक सय ८६ मिटर उचाइको आइसल्यान्ड पिक र सोही वर्ष सोलुखुम्बुकै छ हजार छ सय ५४ मिटरको मेरा पिक हिमालको सफल आरोहण गरे।

केसीले २०७८ जेठ एक गते सोलुखुम्बुकै छ हजार एक सय १९ मिटर उचाइको लोबुचे चुचुरोमा पनि सफल आरोहण गरेर नेपाल पर्वतारोहण संघबाट नेपालको पहिलो दृष्टिविहीन आरोहीको रूपमा सदस्यता पाए।
सन २०१७ मा केसीले सगरमाथा तिरको यात्रा पहिलो पटक तय गरेका थिए। सगरमाथाको चौथो आधार शिविर (साउथ कोल) मा पुग्दा मौसममा आएको खराबीको कारण ३६ घण्टा बित्यो। आठ हजार मिटरको उचाइमा पुगेको उनको अगाडि बाँकी यात्रा आठ सय ४८ मिटर रहेको भए पनि अक्सिजन सकिएका कारण उनले चुचुरोतर्फ पाइला बढाउन सकेनन्, आठ हजारकै उचाइबाट फर्किन बाध्य भए।
लगत्तै नेपाल सरकारले अपांगता भएका व्यक्तिहरूका लागि पर्वतारोहण लगायतका कुनै पनि हिमाल आरोहण गर्न नपाउने गरी स्थायी प्रतिबन्ध लगायो।

हिमाल चढेर नेपालको नाम उँचो बनाउने सोच राखेर खाइपाई आएको शिक्षक जागिर समेत छाडेर हिमालसँग पैठाजोरी खेलिरहेका उनको यात्रा बिलखबन्दमा पर्न गयो। तर सरकारको कदमबाट हार नखाएका उनले नेपाल पत्रकार महासंघका तत्कालिन केन्द्रीय सदस्य माधव चम्लागाईसँग मिलेर सरकारको निर्णयको विरुद्धमा लड्न सुरु गरे।

अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सिआरपिडि) लगायत अपांगता सम्बन्धी नेपाल सरकारले आफू पक्ष राष्ट्र हुने गरी हस्ताक्षर गरेको छ।  तर, अपांग भएका व्यक्तिलाई प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा छ भन्दै सर्वोच्चमा रिट दायर भयो।

अपांगता भएका व्यक्तिहरूको पक्षमा अन्तरिम आदेश तथा परमादेशमार्फत अपांगता भएका व्यक्तिहरूका लागि हिमाल आरोहण सहज बनाउन समय खर्चिनु पर्दा सन २०१८ र २०१९ मा आरोहण अभियानले निरन्तरता पाउन सकेन।

सर्वोच्चको फुकुवापछि सन २०२१ मा कोभिडका कारण सगरमाथा चढ्न नपाएका केसीले अबको एक हप्तामा सगरमाथातर्फको यात्रा सुरु गर्दै छन्। आउँदो जेठ महिनाभित्रमा उनको आरोहण अभियान सफल पर्ने गरी तयारी भइरहेको छ। यो एक हप्ताको अवधिमा आफूलाई आवश्यक पर्ने आर्थिक व्यवस्थापनको पाटोमा लागिरहेको दृष्टिविहीन केसी बताउँछन्।

‘अबको एक हप्तामा मेरो सगरमाथा यात्रा सुरु हुँदै छ। एक्लै आरोहणमा जाँदा करिब एक करोड खर्च लाग्छ। खर्चको जोहो नभएका कारण म समूहमा नै चढ्ने तयारीमा रहेको छु’, उनले भने, ‘समूहमा जाँदा ४५ लाखसम्म खर्च हुन सक्छ, तर मेरा लागि अझै पनि आवश्यक रकम अपुग भएका कारण विद्यालयदेखि व्यापारीसम्मको दैलोमा पुगिरहेको छु।’

केसीको आरोहण अभियानलाई सफल पार्नको लागि ‘दृष्टिविहीन अमिट के.सी. सगरमाथा आरोहण अभियान २०७९’ नामक अभियान चलाएर आर्थिक सहयोग संकलनको काम चलिरहेको केसीले बताए। नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागबाट अनुमति लिएर बसेको भए पनि आफू अझै पनि आर्थिक समस्यामा नै रहेकाले आफ्नो अभियानलाई सबै नेपालीको साझा अभियानको रूपमा लिनको उनको अपिल छ।

प्रकाशित मिति २०७९ बैशाख ८ गते बिहिबार ०४:४९
प्रतिक्रिया दिनुहोस्