हरेक सरकारी निकायको काम कारवाही र गतिबिधि नागरिकसँग प्रत्यक्ष जोडिएको हुन्छ । सरकारी निकायबाट हुने गतिबिधि जान्न पाउनु नागरिकको अधिकार पनि हो । कुनै पनि सरकारी निकायले नागरिकको सूचना पाउने अधिकारको ख्याल गरि सूचना उपलब्ध गराउनु पर्छ । तर बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाले नागरिकको सूचना पाउने हक माथि हस्तक्षेप गरेको जनाईएको छ ।
मंगलबार सुचनाको हक अनुसार पालिकाले उपलब्ध गराएको आर्थिक सहायता रकम र पाउने व्यक्तिको नाम सहितको तथ्यांक उपलब्ध गराउन माग गर्दै नगरपालिका पुगेका स्थानीयलाई नगरपालिकाले सूचना नदिइ फर्काएको थियो । सूचनाको लागि निवेदन पेश गर्न नगरपालिकामा पुगेका स्थानीय गोपाल महत बिना सूचना फर्किएको गुनासो गर्नुभयो । सुचनाको हक सम्बन्धी ऐन अनुसार सुचना अधिकारी समक्ष आर्थिक वर्ष २०७४ देखि २०७९ हालसम्म नगरपालिकाबाट दिइएको आर्थिक सहायता (विशेष राहत) कार्यक्रम अन्र्तगत उपलब्ध गराइएको रकम र रकम पाउने व्याक्तिको नाम सहितको तथ्यांक लिन नगरपालिका पुगेका महतलाई प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराइले यत्तिकै पठाएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराइले महतले दिइएको निवेदनको माग सुचनाको सम्बन्धमा प्रत्यक्ष सरोकार नदेखिने भन्दै आधिकारीक निकाय बाहेक अन्यलाई नदिने गरी तोक आदेश दिनुभएको छ । हाललाई निवेदन अनुसारको सुचना उपलब्ध गराउन नसकिने भन्दै आधिकारीक निकायबाट पत्र आएको खण्डमा मात्र निवर्तमान नगरप्रमुख देवकुमार नेपाली समक्ष पेश गरी आवश्यक कारवाही गर्ने तोक आदेशमा उल्लेख गर्दै फिर्ता पठाइएको जनाईएको छ ।
आफुले माग गरेको सुचना नगरपालिकाले उपलब्ध गराउन नचाहेको र निश्चत समय समेत नदिएको भन्दै महतले जनतालाई सुचनाको हकबाट वञ्चित गराइएको बताउनुभयो । सोहि घटना आज ईलाका प्रहरी कार्यलयसम्म पुगेको जनाईएको छ । अनावश्यक विरण माग गरेको भनि प्रशासकिय अधिकृतले प्रहरी सम्म पुराएको जनाईएको छ ।











