बागलुङमा ४४५ पदका लागि एक हजार ९१ जना चुनावी मैदानमा

बागलुङमा ४४५ पदका लागि एक हजार ९१ जना चुनावी मैदानमा
२०७९ बैशाख १७ गते शनिवार ०४:४९

बागलुङ : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका ११९ जनाले फिर्ता लिएका छन्। बागलुङको १० स्थानीय तहमा आवश्यक पद ४४५ हो तर यहाँ झण्डै तीन गुणा बढी उम्मेदवारी परेको थियो। नगर प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष,...

बागलुङ : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका ११९ जनाले फिर्ता लिएका छन्। बागलुङको १० स्थानीय तहमा आवश्यक पद ४४५ हो तर यहाँ झण्डै तीन गुणा बढी उम्मेदवारी परेको थियो। नगर प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १,२१० जनाको उम्मेदवारी परेको थियो।

सबैभन्दा बढी उम्मेदवारी फिर्ता लिने ढोरपाटन नगरपालिका रहेको छ। यो पालिकामा ३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैभन्दा थोरै तमानखोला गाउँपालिकामा रहेको छ। यो पालिकामा जम्मा १ जनाले मात्र आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय तमानखोलाले जनाएको छ। बागलुङ नगरपालिकामा २९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।

गलकोट नगरपालिकामा ८ जना, जैमिनी नगरपालिकामा ११ जना, ताराखोला गाउँपालिकामा ३ जना, बडिगाड गाउँपालिकामा ७ जना, निसीखोला गाउँपालिकामा ९ जना, बरेङ गाउँपालिकामा ८ जना र काठेखोला गाउँपालिकामा ९ जनाले उम्मेदवार फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएका छन्। गठबन्धनबाट ताराखोला र गलकोटको प्रमुखमा परेको बागी उम्मेदवारी फिर्ता भएको छैन। ११९ जनाले उम्मेदवारीले फिर्ता लिए पनि १,०९१ जना चुनावी मैदानमा उत्रिएका छन्।

बागलुङ नगरमा २९ को उम्मेदवारी फिर्ता

बागलुङ नगरपालिकामा नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवार दिनेश पन्तले उम्मेदवारी फिर्ता लिएका छन्। नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पसको एकाइ सभापति समेत रहेका पन्तले नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा उम्मेदवारी दिएका वसन्तकुमार श्रेष्ठ र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्। राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार सञ्जु नेपालीले पनि उम्मेदवारी फिर्ता गरेकी छन्। उनले नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने बताएकी छिन्।

नेकपा एमालेबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी पवित्रा रोकाले पनि उम्मेदवारी फिर्ता गराएकी छिन्। नेकपा एमाले र राप्रपाबीच तालमेल भएपछि रोकाले उम्मेदवारी फिर्ता गरेकी हुन्। बागलुङ नगरपालिकामा वडा नम्बर १ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार राजेश श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार निशान खड्का, वडा नम्बर ४ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हरिबहादुर जिसी, डिल्लीप्रसाद आचार्य, वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार मानबहादुर कार्की, हेमराज गौतमले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।

वडा नम्बर १० को राप्रपाका तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका रोमन्त मल्ल, स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद शर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएका छन्। नेपाली कांग्रेस विपीबाट वडा नम्बर १३ का वडाध्यक्षका उम्मेदवार बनेका रामप्रसाद अधिकारी र वडाध्यक्षकै स्वतन्त्र उम्मेदवार रुद्रप्रसाद शर्माले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

बानपा १४ मा गठबन्धन भित्रकै दलका नेताले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उमानाथ सिग्देल र योगेन्द्रराज शर्मा पौडेलले पनि उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बागलुङ नगरपालिकामा वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका बानपा–३ बाट अमृतप्रसाद सापकोटा, बानपा–७ का माधवप्रसाद उपाध्याय, बानपा–८ का प्रियंका कार्की, बानपा–१० का कृष्णबहादुर विक, मनोज थापा, गोमा थापा, बानपा–११ का सम्मरबहादुर थापा, बानपा– १२ का शेखसखिना खातुन, सुस्मा घमाल विक, बानपा–१३ का चित्रराज शर्मा र रेशमबहादुर थापा खत्री र बानपा–१४ का खेमकान्त पौडेलले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएका छन्।

बागलुङ नगरपालिकमा गठबन्धनमा पाँच दल एकातिर छ भने नेकपा एमालेसँग राप्रपा रहेको छ। गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी दिएका जीवन आचार्य र वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार पिंगलराज गौतमले पनि उम्मेदवारी फिर्ता लिएनन्। त्यसैगरी नेकपा एमालेमा बागी उम्मेदवारी दिएका वडा नम्बर ३ का स्वतन्त्र उम्मेदवार पुनम शर्मा र वडा नं. २ का स्वतन्त्र उम्मेदवार रामराज गुरुङले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएनन्।

बागलुङ नगरपालिकाको वडा नम्बर १२ अमलाचौरमा पनि नेपाली कांग्रेसले छुट्टै समूह बनाएर स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको थियो। नेपाली कांग्रेसका वडा सभापति कोपिलामणि शर्माको नेतृत्वमा वडामा छुट्टै स्वतन्त्र उम्मेदवार खडा गरेको थियो। ती कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन्।

बागी नगरप्रमुख र उपप्रमुखको भएन फिर्ता गलकोट नगरपालिकामा बागी उम्मेदवार दिएका दुईजनाले उम्मेदवारी फिर्ता लिएका छैनन्। फिर्ता नलिने दुबैजना पाँच दलीय गठबन्धनकै नेता हुन्। नगर प्रमुखको उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ मञ्जु शर्मा चालिसे र माओवादी केन्द्र गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती रहेका छन्। चालिसेले नगरप्रमुख र उप्रेतीले उपप्रमुखमा उम्मेदवारी दिएका थिए।

यस पालिकामा नेपाली कांग्रेसका नेता भरत शर्मा गैरे नगरप्रमुख र माओवादी केन्द्रका नेता फमलाल निउरे उपप्रमुखका उम्मेदवार छन्। गलकोट नगरपालिकामा–८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गुमानसिंह बुढासहित ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। २ जना वडा अध्यक्ष र ५ जना वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नेत्रप्रसाद भुषालले जानकारी दिए।

फिर्ता लिनेमा वडा नम्बर ५ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार ललितबहादुर श्रीष मगर, वडा नम्बर ६ का वडाध्यक्षका उम्मेदवार भीमबहादुर विश्वकर्मा रहेका छन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा नम्बर २ मा उम्मेदवारी दर्ता गरेका लालबहादुर भण्डारीले पनि फिर्ता लिएको निर्वाचन अधिकृत भुषालले जानकारी दिए। उम्मेदवारी फिर्ता लिनेमा वडा नम्बर १ का वडा सदस्य कृष्णबहादुर गुरुङ, वडा नम्बर २ का वडा सदस्य हर्कबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य ताराबहादुर अधिकारी र वडा नम्बर ८ का वडा सदस्य इन्द्रमणि उपाध्याय रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ढोरपाटनमा ३५ जनाको उम्मेदवारी फिर्ता
ढोरपाटन नगरपालिकामा सबैभन्दा बढी उम्मेदवारी फिर्ता भएको छ। यस पालिकामा ३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। चारजना नगर प्रमुख, दुईजना नगर उपप्रमुख, ९ जना वडाध्यक्ष र ११ जना वडा सदस्य, ६ जना महिला सदस्य र तीनजना दलित महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको ढोरपाटन नगरपालिकाका निर्वाचन अधकृत लालसिंह थापाले जानकारी दिए।

नगर प्रमुखमा उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, गंगाबहादुर घर्ती, शैलेश घर्ती मगर, दलबहादुर भण्डारीले उम्मेदवारी फिर्ता लिएको थापाको भनाइ छ। उपप्रमुखमा उम्मेदवारी दिएका दिलमाया पौवी र भीमकुमारी क्षेत्रीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

ढोरपाटनमा प्रमुखका लागि १० जना, उपप्रमुखका लागि ५ जना, वडाध्यक्षमा ३९ जना, खुला सदस्यमा ६५, महिला सदस्यमा २८ र दलित महिला सदस्यमा २३ जनाले उम्मेदवारी दिएका थिए।

जैमिनीमा १० जनाको फिर्ता

जैमिनी नगरपालिकामा २ जना नगरप्रमुख, २ उपप्रमुखसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। नगर प्रमुखमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका शिवलाल सापकोटा, जयराम आचार्य र उप्रमुखको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रुद्रकुमारी रोका क्षेत्री र कृष्णराज पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन्। सापकोटा नेपाली कांग्रेसका नेता हुन् भने रोका क्षेत्री राष्ट्रिय जनमोर्चाका हुन्।

वडा नम्बर ८ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पदमबहादुर पुन, वडा नम्बर १० का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पुरन श्रीष, वडा नम्बर १ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार डिल्लीप्रसाद शर्मा र ताराबहादुर थापाले उम्मेदवारी फिर्ता गरेको जैमिनी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिए। वडा नं. १ का देवनारायण शर्मा, वडा नम्बर २ का सदस्यका स्वतन्त्र उम्मेदवार नारायणप्रसाद सापकोटाले उम्मेदवारी फिर्ता गरेका छन्।

काठेखोलामा ९ जनाले गरे उम्मेदवारी फिर्ता
काठेखोला गाउँपालिकामा ९ जनाले उम्मेदवारी फिर्ता गरेका छन्। मनोनयन दर्ताको क्रममा पालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनाले उम्मेदवारी फिर्ता लिएको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिए।

उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका डिलबहादुर विक, नेपाली कांग्रेसबाट उपाध्यक्षका बागी उम्मेदार बनेका चित्रबहादुर कार्की, काठेखोला गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका गणेश नेपाली, स्वतन्त्रबाट सोही वडाको अध्यक्षमा उम्मेदवारी दिएका टीकाबहादुर थापा र वडा नम्बर ६ को अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएका धनपति न्यूरेले उम्मेदवारी फिर्ता लिएका हुन्।

वडा नम्बर ५ मा स्वतन्त्रबाट दलित महिला सदस्य उम्मेदवार गीता विक, दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार गंगाबहादुर विक, वडा नम्बर ४ का सदस्यका उम्मेदवार विष्णु कँडेल, ८ नम्बर वडाका सदस्य झकबहादुर सुनार र काठेखोला १ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका महिला सदस्य रीता नेपालीले उम्मेदवारी फिर्ता गरेका हुन्।

बागी अध्यक्षले लिएनन् उम्मदवारी फिर्ता
निसीखोला गाउँपालिकामा–९ जनाले उम्मेदवारी फर्ता लिएका छन्। पाँचजना वडाध्यक्ष र चारजना वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए।

निसीखोला अध्यक्ष र उपाध्यक्षमा चार÷चार जना, वडाध्यक्षमा ३४ जना, खुला सदस्यमा ४५, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ जनाले उम्मेदवारी दिएका थिए।

बडीगाडमा सातजनाको फिर्ता
बडीगाड गाउँपालिकाका लागि अध्यक्षसहित विभिन्न पदमा उम्मेदवारी दिएका ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका अनिल गिरी, स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेता यामेन्द्रकुमार घर्ती, स्वतन्त्र रूपमा वडा नम्बर ३ को अध्यक्षमा उम्मेदवारी दिएका लोकबहादुर घर्तीले उम्मेदवारी फिर्ता लिएका हुन्।

स्वतन्त्र रूपमै वडा नम्बर ५ को अध्यक्षमा उम्मेदवारी दिएका ध्रुवबहादुर घिमिरे, वडा नम्बर ५ कै सदस्य पदका उम्मेदवारी दिएका धर्मराज घिमिरे, वडा नम्बर ९ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका मुक्तबहादुर श्रीस र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दिएका धनबहादुर बुढाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय बडीगाडले जनाएको छ।

निवर्तमान अध्यक्षको भएन उम्मेदवारी फिर्ता
ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले उम्मेदवारी फिर्ता लिएका छैनन्। पार्टी नेतृत्वले हचुवाको भरमा टिकट वितरण गरेको भन्दै बागी उम्मेदवार दिएका घर्तीले चुनाव लडेर जित्ने दाबी गरेका छन्। उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता धनबहादुर विकका विरुद्धमा बागी उम्मेदवारी दिएका हुन्।

यस गाउँपालिकामा ३ जनाले मात्रै उम्मेदवारी फिर्ता गराएका छन्। वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार तुलसीराम घर्ती मगरसहित वडा नम्बर ३ कै महिला सदस्य पूर्णमाया रोका र वडा नम्बर ५ का खुला सदस्य लालमती घर्तीले उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृत गोपालप्रसाद ढकालले जानकारी दिए। तीनजना उम्मेदवार नै सबै स्वतन्त्र रहेका थिए।

बरेङमा आठ र तमानखोलामा एकको फिर्ता

जिल्लाको बरेङ गाउँपालिकामा पालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका आठ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय बरेङ गाउँपालिकाले जनाएको छ। तमानखोला गाउँपालिकामा एकजनाको मात्रै उम्मेदवारी फिर्ता लिएका छन्।

गाउँपालिका अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रकुमार छन्त्यालले उम्मेदवारी फिर्ता लिएको तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत लालप्रसाद लामिछानले जानकारी दिए। तमानखोलामा अध्यक्षका लागि ५ जना, उपाध्यक्षका लागि ४ जना, वडाध्यक्षमा १७ जना, खुला सदस्यमा ६५, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १४ जनाले उम्मेदवारी दिएका थिए।

प्रकाशित मिति २०७९ बैशाख १७ गते शनिवार ०४:४९
प्रतिक्रिया दिनुहोस्