स्थानीय तह निर्वाचनबाट चुनिने सातमध्ये तीनवटा पदमा महिला चाहिने बाध्यकारी व्यवस्थाका कारण राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा दिएको कुल उम्मेदवारको साढे ३८ प्रतिशत हिस्सा महिलाको छ । बाध्यकारी पद बाहेक अन्यमा उनीहरुले दिएको उम्मेदवारी निकै कम छ ।
प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला दलित सदस्य, महिला सदस्य र दुई वडा सदस्य पदमध्ये कम्तिमा पनि तीन पदमा महिला अनिवार्य छ ।
प्रमुख दुई पदमा उम्मेदवारी दिए एउटामा अनिवार्य महिला उम्मेदवार बनाउनुपर्छ । बाध्यकारी व्यवस्था रहेको पदमा महिला उम्मेदवारी उल्लेख्य देखिए पनि राजनीतिक दलहरु अन्य पदमा भने उदासिनत देखाएका छन् ।
कुल उम्मेदवार र महिला
| कुल उम्मेदवार | १४४८५९ |
| पुरुष | ८९२३७ |
| महिला | ५५६२२ |
| प्रतिशत | ३८.३९ |
पहिलो र दोस्रो पदमध्ये एउटामा अनिवार्य महिला उम्मेदवारको व्यवस्था भए पनि दलहरुले उपप्रमुख पदमा महिला उम्मेदवारलाई निरन्तरता दिएको देखिन्छ । प्रमुख तथा उध्यक्ष पदमा महिला उम्मेदवारी करिव ७ प्रतिशत मात्रै छ ।
अहिलेका कतिपय उपप्रमुख/उपाध्यक्ष स्थानीय तहको नेतृत्वका लागि योग्य र अनुभवी भएको आवाज उठे पनि दलहरुले उनीहरुलाई त्यो भूमिकामा विश्वास गर्न नसकेको देखिन्छ ।
पहिलो पदको तुलनामा उपप्रमुख पदमा उल्लेख्य उम्मेदवारी परेको छ । अघिल्लोपटक महिलाको बाहुल्य रहेको उपाध्यक्ष/उपप्रमुख पदमा अहिले पनि दलहरुले महिलालाई नै निरन्तरता दिएका छन् ।
उपाध्यक्ष/उपप्रमुख दलमा परेको महिला उम्मेदवारी ७३.२ प्रतिशत हो ।
सबै पदमा महिला उम्मेदवारी कति ?
| पद | पुरुष | महिला | कुल |
| प्रमुख | ३०११ | २३० | ३२४१ |
| उपप्रमुख | १४३५ | ५३० | १९६५ |
| अध्यक्ष | २९४० | १५५ | ३०९५ |
| उपाध्यक्ष | १६४४ | ५२६ | २१७० |
| वडाध्यक्ष | ३१५३७ | ९४५ | ३२४८२ |
| सदस्य | ५०६९३ | २४०७ | ५३१०० |
राष्ट्रिय दलको मान्यता पाएकामध्ये प्रमुख पदमा एमालेले तुलनात्मक रुपमा बढी महिला उठाएको देखिन्छ । उसले ७३० प्रमुख पदमा उम्मेदवारी दिएकोमा ५१ जना महिला छन् । उसले ७ सय १६ उपप्रमुखमध्ये ६ सय ५६ जना महिला उम्मेदवार अघि सारेको छ ।
गठबन्धन बनाएर तालमेल गरेका सत्तारुढ दलहरुले प्रमुख पदमा महिलालाई प्राथमिकता दिएका छैनन् । त्यसको साटो बरु उपप्रमुख दलमा केही बढी उम्मेदवारी दिएको देखिन्छ । दुवै पदमा महिला उम्मेदवारको अनुपात एमालेको भन्दा कम छ ।
दलगत रुपमा प्रमुख पदमा महिला उम्मेदवार
| दलको नाम | प्रमुख/अध्यक्ष | महिला | उपप्रमुख/उपाध्यक्ष | महिला |
| नेपाली कांग्रेस | ६३१ | २५ | ५३४ | ४३८ |
| एमाले | ७३० | ५१ | ७१६ | ६५६ |
| एकीकृत समाजवादी | २७५ | २२ | २९९ | १७८ |
| माओवादी केन्द्र | ४१८ | २३ | ४९० | ३०८ |
| लोसपा | १६८ | ८ | १३३ | १२४ |
| जसपा | ३१६ | १९ | ३१६ | २३३ |
हरेक वडामा दुई जनाका दरले रहने वडा सदस्यमा समेत महिलाले प्राथमिकता पाएका छैनन् । वडामा महिला सदस्य र दलित महिला सदस्य बाहेक पनि २ जना वडा सदस्य हुन्छन् ।
त्यो पदमा महिलाले उम्मेदवारी दिन पाउने व्यवस्था भए पनि दलहरुले महिलालाई महिला सदस्य र दलित महिला सदस्यमा मात्रै सिमित गरेका छन् ।
वडा सदस्य पदमा कुल ५३ हजार १०० उम्मेदवारी परेकोमा महिला उम्मेदवारको संख्या २ हजार ४०७ मात्रै छ ।
वडा सदस्य पदमा महिला उम्मेदवारको दलगत स्थिति
| दल | पुरुष | महिला | कुल |
| जनता समाजवादी पार्टी, नेपाल | ३३१९ | १४३ | ३४६२ |
| नेकपा एकीकृत समाजवादी | ३६८२ | २५३ | ३९३५ |
| नेकपा एमाले | १२२३३ | ५३१ | १२७४६ |
| नेकपा माओवादी केन्द्र | ७७४७ | ३६० | ८१०७ |
| नेपाली कांग्रेस | ११४९४ | ३६० | ११८५४ |
| लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | १६४३ | ९६ | १७३९ |











