बुर्तिबाङ- निर्वाचनको मिती नजिकिदै जाँदा दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त बनेका छन् । आफ्ना उम्मेदवारहरुलाई जिताउन पार्टीका नेता, कार्यकर्ता एवं उम्मेदवारहरु चुनावी सभा र घरदैलोमा व्यस्त बनेका हुन् ।
राजनीतिक दलहरु सहित स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा छन् । विभिन्न योजनाहरु घोषणा पत्रका माध्यमबाट सार्वजनिक गरेका उम्मेदवारहरु आफुहरुलाई जिताएपछि गर्ने कामहरु सुनाउदै भोट माग्ने गरेका छन् । यसैक्रममा ढोरपाटन नगरपालिका वडा नं ७ को गाल्दुङमा नेकपा एमालेको चुनावी सभा तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार देव कुमार नेपाली, राजमो बिद्रोही समुह बाट उपप्रमुखका उम्मेदवार तारा कुमारी पुन वडाका अध्यक्षका उम्मेदवार र सदस्यहरुको उपस्थितीमा चुनावी सभा गरेका छन् ।
सभालाई सम्बोधन गर्दै नगर प्रमुखका उम्मेदवार नेपालीले आफुले ५ बर्षको अबधीमा सामाजिक, आर्थिक तथा पूर्वाधार क्षेत्रको जग बसालेको र आउने कार्यकालमा त्यसलाई दिगोपना दिदै आम्दानी सँग जोड्ने गरी कार्यक्रम ल्याउने योजना रहेको सुनाउनुभयो ।
अब आर्थिक संबृद्धी नै प्रमुख एजेण्डा हुने भन्दै उहाँले वितेको ५ बर्षमा त्यसका लागि आधार तयार गर्न सफल भएको दावी गर्नुभयो । कृषि, पशुपालन, उद्यम, व्यापार, सिप, कलाको प्रबद्र्धन गर्दै नागरिकको जीवन स्तर उठाउन आर्थिक पाटोलाई प्रथामिकता दिएर काम गर्ने सोच रहेको उल्लेख गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार, शुसासनलाई थप सुधार गर्दै लैजाने उहाँको भनाई छ । अरुलाई गालि गरेर आफु राम्रो देखिने भन्दा पनि आफुले राम्रो गरेर देखाउने सोचका साथ आफु अघि बढेको भन्दै अब एमाले नै जनताको रोजाई पर्ने बताउनुभयो ।
उपप्रमुखका उम्मेदवारतारा कुमारी पुनले महिलाहरुको हक अधिकार स्थापित गर्दै हिंसा रहित समाज बनाउने र आर्थिक सुधार ल्याउने गरी आफुले काम गर्ने बताउनुभयो । उहाँले लैंगिक समानतालाई जोड दिदै कुनै पनि क्षेत्रमा हुने बिभेदलाई अन्त्य गर्ने र महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउने सोच रहेको योजना सुनाउनुभयो । सो अबसरमा नेपाली कांग्रेस र माओवादी केन्द्रका १६ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।










