बागलुङको उद्योग वाणिज्य संघमा त्यहाँका स्थानीय राजनैतिक दलहरुले गज्जव रत्यौली प्रहशन सम्पन्न गरे । ताकपरे तिवारी नत्र गोतामेहरु बागलुङका दलीय विज्ञप्ति मार्फत एकाएक मिडियामा हस्ताक्षर बेचे । तर मोल कौडि परेन । काँग्रेस, एमाले, जनमोर्चा, समाजवादी, माओवादी यतिमात्र नभएर राप्रपा समेतको समर्थन भनिएका अध्यक्ष पदका प्रतिनिधिले उनीहरुको समर्थन कोल्याप्स बनाइदिएपनि चर्चा छ ।
संघको अधिवेशन सुरु हुनेलाग्दा, एकातिर पत्रकार महांसंघका अध्यक्ष समेत रहेका नरेश कँडेल र अर्कोतिर त्यहाँका सबै राजनैतिक दलका प्रतिनिधिहरुको समर्थनमा पूर्व केन्द्रिय सदस्य समेत रहेका निर्माण कुमार श्रेष्ठले उमेदवारी दिए । चुनाव प्रचार पनि गरियो ।
मतदानका लागि सदस्यहरुलाई आह्वान गरियो । अन्ततः दलका उमेदवारलाई खै के औषधि पिलाइयो । मतदान भनिएको दिन विहानै कोल्याप्स भएको खबर शनसनी भयो ।
आफ्नो समर्थनका उमेदवार नै कोल्याप्स भएपनि विज्ञप्ति हस्ताक्षर कर्ता दलहरु तैं चुप मैचुप छन् । पत्रकार महासंघको अध्यक्ष समेत रहेका कँडेलले उतातिर पनि खासै तातोपानी लाउन सकेका छैनन् । उद्यपी यतातिर फैरी जादुमय ढंगले अर्को अध्यक्षपद हडपे । निर्विरोध भनिएको निर्वाचन परिणाम पछि घोषणा गर्न भ्याए कि अव डिजिटल सचिवालय बनाउने रे ।
पत्रकार महासघको निर्वाचनपछि पत्रकारलाई ल्यापटप बाँड्ने बचन दिएका कँडेलले त्यो अभिभारा त पूरा गरिसके । यसो भन्दा कत्ति गज्जव सुनिथ्यो । लाग्थ्यो होला केही गर्ने मान्छे हो । अहँ ! बोलेको बचन खोलामा सेलाउँन नपाउँदै मिडियामा आएको अर्को घोषणाले आफै कुरीकुरी त भएन ? प्रश्न उनको मनभित्र पनि होला । उत्तर कामले खोज्ला ।
अर्को रमाइलो पक्ष त त्यहाँको राजनैतिक वृत्तमा यस्तो देखियो । प्रतिगमनकारी शक्ति भनिएको एमालेलाई समेत एकैसाथ राखेर वर्तमान पाँचदलीय सत्तापक्षले कँडेलका विरुद्ध मोर्चाबन्दी गर्यो । त्यत्तिमात्र रहेन, राप्रपा समेत त्यही मोर्चामा सामेल भयो । अन्ततः फोगत कागजको खर्च, मिडियाका साथीहरुको समय वर्वाद र संघका मतदाताहरुलाई सुनाइएका दुईथरी कुरामा अध्यक्ष पदका समर्थकहरुको बजार दौडधुप मास नपुग्दै तुहियो । आखिर देशको राजनीति, त्यसका नेता र तिनका निर्णय यस्तै फजुल भएर देश गोलमाल छैन र ?










