पोखरामा भोली बिहान एभरेस्ट एफएमको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम हुदै

पोखरामा भोली बिहान एभरेस्ट एफएमको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम हुदै
२०८१ कार्तिक ९ गते शुक्रबार ०८:०८

एभरेस्ट एफएमले आयोजना गर्ने आकस्मिक रक्तदान कार्यक्रम भोलि शनिबार हुँदैछ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि कात्तिक १० गते शनिबार...

एभरेस्ट एफएमले आयोजना गर्ने आकस्मिक रक्तदान कार्यक्रम भोलि शनिबार हुँदैछ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो ।

रक्तदान कार्यक्रम भोलि विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म एभरेस्ट एफएमको प्राङ्गणमा चल्ने एफएमले जनाएको छ । रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एफएमले जनाएको छ ।

विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गर्न लागेको एफएमले जनाएको छ ।

‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले रगतको अभावमा आहत मनलाई राहत प्रदान गर्न रक्तदानमा सहभागी हुन आग्रह गरे । एफएमले गत वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १ सय ८१ युनिट रगत संकलन गर्न सफल भएको थियो ।

१७ देखि ६५ वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका स्वस्थ मानिसले रक्तदान गर्न सक्नेछन् । यसअघि ६० वर्षसम्मकाले मात्रै रक्तदान गर्न मिल्ने भनिदै आएका थियो तर पछिल्लो क्रममा ६५ वर्षसम्मकाले रक्तदान गर्नसक्ने जनाइएको छ ।

त्यस्तै उच्च रक्तचाप भई औषधी सेवन गरेकालेपनि औषधी सेवनपछि सामान्य रक्तचाप भएको अवस्थामापनि रक्तदान गर्नसक्ने रक्तसञ्चार केन्द्रले जनाएको छ । रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वस्थ बनिने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरिरको तौल घटाउन सहयोग पुग्ने बताइन्छ ।

रक्तदान कसले गर्न मिल्छ ?

रक्तदान स्वस्थ शरीर, कम्तीमा १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्तिले रक्तदान गर्न सक्छन् । सामान्यतया स्वास्थ्य अवस्था राम्रो भएको तर मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी तथा एड्स नलागेको भने हुनुपर्छ ।

रक्तदान गर्न पुरुष या महिला दुबैले सक्छन् । तर महिलाले गर्भवती र महिनावारीको समयमा भने रक्तदान गर्नुहुँदैन । महिलाले सुत्केरी भएको ६ महिनापछि मात्रै रक्तदान गर्नुपर्छ ।

उच्च रक्तचाप भएका तर पछिल्लो समय उच्च रक्तचाप सम्बन्धि औषधि सेवन गरेपछि हाल नर्मल १२०÷८० वा त्यस नजिक रक्तचाप रहेका व्यक्तिले रक्तदान गर्न सक्ने रक्त सञ्चार केन्द्र पोखराले जनाएको छ ।

रक्तदान किन गर्ने ?

रक्तदान आफैले आफैलाई स्वस्थ भएको प्रमाणित गर्ने मौकापनि हो । अर्कोचाहिं यसले आफैलाई सन्तुष्टि दिन्छ । भनिन्छ, रक्तदान दानमध्येका सर्वश्रेष्ठ दान हो । यसले कसैको ज्यान जोगाउन सकिन्छ । त्यसैले यसलाई महादानपनि भन्ने गरिन्छ ।

त्यतिमात्र होईन, कहिलेकाहिं आफ्नो रगत आफैलाईपनि काम लाग्छ । के थाहा अहिले स्वस्थ भएको व्यक्ति एकछिनपनि विरामीपनि हुनसक्छ । त्यसैले आफैले दान गरेको रगत भोलि आफैलाई काम लाग्नका लागिपनि रक्तदान गर्ने बानी बसाल्नुपर्छ ।

हरेक ३ महिनामा रक्तकोषिका परिवर्तन भइरहन्छ । पुराना रक्त कोषिका मर्ने र नया उत्पादन हुने गर्दछ । त्यसैले खेर जाने रगत दान गरेर कसैको ज्यान बचाउन सकिन्छ ।

रक्तदान गर्दा क्यालोरी घट्छ, जसका कारण मोटोपन कम गराउनपनि सघाउँछ । एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्ने चिकित्सकको भनाई छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् ।

रक्तदानले मुटुको समस्याबाट टाढा राख्छ । त्यस्तै रक्तदानले क्यान्सरबाटसमेत जोगाउँछ । अनुसन्धानले पनि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्ने पुष्टि गरिसकेको छ । रक्तदानले कार्डियायोभास्कुलर स्वास्थ्यको पनि नियन्त्रण गर्छ । रक्तदानले सामाजिक प्रतिष्ठापनि उचो बनाउँछ । यो समाजसेवाको एउटा रुपपनि हो ।

प्रकाशित मिति २०८१ कार्तिक ९ गते शुक्रबार ०८:०८
प्रतिक्रिया दिनुहोस्