कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भीर मौरीको मह काढ्ने(हनि हन्टिङ)लाई महोत्सवका रुपमा गरिने भएको छ ।अन्नपूर्ण गाउँपालिका प्रवद्र्धक रहेको हनि हन्टिङ महोत्सव यही मङ्सिर २२ देखी २४ गतेसम्म सञ्चालन हुनेछ ।
पर्यटकीय हिसावले महत्वपूर्ण रहेको लान्द्रुकको महभीरमा एक सय वर्षअघिदेखी परम्परागत रुपमा मह काढ्दै आइएपनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गर्दै आएको महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताउनुभयो ।्
लान्द्रुकस्थित मोदी खोलाको किनारस्थित कोटेसाङ भीरमा मौरीका घार रहेका छन् । भीरमा जोखिम मोलेर भिरौटेले काढेर ल्याएको प्राकृतिक मह स्वास्थ्यप्रद्र्धक समेत मानिन्छ ।
“हनि हन्टिङको ऐतिहासिक र सांस्कृतिक महत्वको बारेमा जानकारी गराउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नेछौँ । महभिरमा गएर मह काढ्ने, मह निकाल्ने र प्रदर्शन तथा बिक्री वितरणले गाउँको पर्यटन विकास हुने अपेक्षा छ ।” अध्यक्ष गुरुङले भन्नुभयो ।
लान्द्रुक मर्दी हिमाल आधार शिविर र अन्नपूर्ण आधार शिविरको प्रवेशद्धार समेत हो । यहाँबाट पुन हिल समेत जान सकिन्छ । पर्यटकीयस्थलमा आयोजना हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षणसँगै पर्यटन विकासमा मद्धत पुग्ने विश्वास गरिएको सोही वडाका वडाध्यक्ष भरतमान गुरुङले बताउनुभयो ।
यसैगरी महोत्सवका अवसरमा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । भलिबलको विजेताले रु ७० हजार, द्धितीयले रु ४० हजार र तृतीयले नगद रु २० हजार पुरस्कार प्राप्त गर्ने खेल संयोजक महादेव गुरुङले जानकारी दिनुभयो ।









