पोखरामा चोरी भएका मोटरसाइकलका पार्टपुर्जा खोलेर बेच्ने गरेको भेटिएको छ। ‘बिजय थापा’ नाम गरेको फेसबुक आईडिमा बेच्न भनेर राखिएको मोटरसाइकलको पार्टपुर्जा बारे अनुसन्धान गर्दै जाँदा प्रहरीले पोखरामा चोरी भएका मोटरसाइकलका पार्टपुर्जा खोलेर बेच्ने गरेको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , गएको मंसीर ५ गते साँझ छ बजे पोखराको चिप्लेढुंगास्थित ट्रेडमल अगाडी पार्किङ गरी राखिएको ग.२३प.९२०८ नम्बरको DUKE मोटरसाइकल चोरी भएको थियो। तर आफ्नो चोरी भएको उक्त मोटरसाइकलको पार्टपुर्जा ‘बिजय थापा’ नाम गरेको फेसबुक आईडिमा देखेपछि मोटरसाइकल धनीले प्रहरीमा खबर गरेका थिए।
उक्त सुचना पाउनासाथ अनुसन्धानमा जुटेको वडा प्रहरी कार्यालय बैदाम पोखराको प्रहरी टोलीले उक्त फेसबुक आइडि भएका व्यक्ति पोखरा महानगरपालिका वडा न.१७ डेभिजफल बस्ने बर्ष २२ को बिजय थापालाई पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख छ।
अभियुक्त थापाले चोरीको उक्त मोटरसाइकलको केही पार्टपुर्जा आफ्नो ग.१६प.१४६२ न.को मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा छुट्टाई पोखरा १७ घारीपाटन स्थित आफ्नो डेराकोठामा लुकाई छिपाई राखेको अवस्थामा भेट्टाएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त थापाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।










