पोखरा । कास्की जिल्लाको मादी गाउपालिकामा जिउदो मानिसलाई पेट्रोल छर्किएर आगो लगाई मार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मादी गाउँपालिका वडा नं.५ ठुलास्वारा बस्ने बर्ष ४८ को दुर्गा बहादुर गुरुङलाई बिहिबार राती करीब ११ बजेको समयमा पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको आरोपमा प्रहरीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१२ स्थायी घर भई हाल जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १३ काँहुखोला बस्ने वर्ष ३१ को उमेश राईलाई पक्राउ गरेको हो।
अभियुक्त राईले बिहिबार राती श्रीमती साथमा लिएर शौचालाया जान निस्किएका गुरुङलाई पेट्रोल छर्किएर आगो लगाई भागेको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट ७५ प्रतिशत भाग जलेका गुरुङको हाल काठमाण्डौ उपत्यकास्थित किर्तिपुर बर्न अस्पतालमा उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ।
शरीरना आगो लागेर सख्त घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि मणिपाल रिफर भएको र पुन: थप उपचारकोलागि किर्तिपुर बर्न अस्पताल रिफर भएको प्रहरीले बताएको छ।
गाउँघरमा निर्माण मजदुरको रुपमा काम गर्दै आएका राई दुर्गाबहादुर गुरुङको श्रीमतीले घरमा बनाएको रक्सी खान पटक – पटक जाने गरेको बताइएको छ। भारतमा कार्यरत गुरुङ भने केही दिन अघि मात्र घरमा आएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन्।
दुर्गाबहादुर गुरुङलाई पेट्रोलले आक्रमण गरेर भागेका राईलाई मादी गाँउपालिका वडा नं. ५ सुनपदेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गर्न डांडाको नाक प्रहरी चौकी शिशुवाका प्रमुख डिएसपी श्रवणकुमार बिकको नेत्रित्वमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीहरुको संयुक्त टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
अभियुक्त राईको साथबाट लाईटर-तीन थान, बोत्तल- एक थान, मोवाईल- तीन थान र लाईसेन्स- एक थान समेत बरामद बरामद भएको प्रहरीबाट प्राप्त जानकारीमा उल्लेख छ।
अभियुक्त रईबिरुद्ध कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप भै अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।










