पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध मुद्दा दर्ताको तयारी भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सकेसम्म आजै अभियोजन दर्ताको तयारी भइरहेको जनाएको हो । भोलि शनिबार परेकाले आजै अभियोजन दर्ताको तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायत विरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने प्रहरीको राय छ ।
प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस २ गते चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद आज सकिँदै छ । शनिवार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ ।
रवि लामिछाने छविलाल जोशी, लिला पछाइलगायतमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा कास्की प्रहरीले झण्डै ८५ दिन लगाएर अनुसन्धान गरेको करिव ६ सय पृष्ठको प्रतिबेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा कानुनबमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने व्यवस्था छ । त्यसका लागि आइतबारसम्म समय छ । त्यसपछि मुद्दा दायर गर्न सकिँदैन ।
पूर्व गृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्य दर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले कारबाहीको सिफारिस गरेको थियो ।
सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्य दर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्व डिआइजी छविलाल जोशीलाई काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो । उस्तै प्रकारको अभियोग भएकाले जोशी पक्राउ परेकै दिनदेखि नै रविको पनि गणना हुने कानूनी ब्यवस्था छ । कात्तिक २ गते काठमाडौबाट रविलाई पक्राउ गरि सोहि दिन स्थलमार्ग हुँदै पोखरा ल्याइएको थियो ।
यसबिचमा उनीहरूलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौँ र वीरगन्जमा लगेर पनि बयान गराइएको थियो ।










