मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द (सूचनासहित)

मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द (सूचनासहित)
२०८१ पुस ७ गते आईतबार १२:४४

मुग्लिङ(नौबिसे सडकखण्ड आज (आइतबार)देखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि पाँचदिनसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न...

मुग्लिङ(नौबिसे सडकखण्ड आज (आइतबार)देखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ।

सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि पाँचदिनसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको नागढुङगा–मुग्लिन सडक योजनाले जनाएको छ। नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेको हो।

सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ। दरइका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ।

यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ। यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ।

त्यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनले जानकारी दिए। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए।

सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति २०८१ पुस ७ गते आईतबार १२:४४
प्रतिक्रिया दिनुहोस्