रवि पत्नी निकिताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

रवि पत्नी निकिताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
२०८१ पुस ७ गते आईतबार ०४:४९

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा अघि बढेको छ। पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी आरोपमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा...

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा अघि बढेको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी आरोपमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेसँगै पत्नी निकितालाई पनि प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता गराएको हो ।

पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको हो । उनको नाममा देखिएको अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजन शीर्षकमा निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

यस प्रयोजनका लागि निकितासहित पद्‌मा बञ्जाडे, रोचक जोशी, राधा पछाई र मीना पछाईलाई प्रतिवादी बनाइएको हो । उनीहरूको हकमा अदालतबाट कानुन बमोजिम हुने गरी मुद्दा अघि बढाइएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

रवि, छविलाल जोशी र गितेन्द्रबाबु राईसहितका प्रतिवादीहरूविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबीसहित मुद्दा चलाइएको हो ।

सहकारी ठगीमै मुछिएका अन्य प्रतिवादीहरू लीला पछाई र विश्वविक्रम राईविरुद्ध नेपालमा अवैध रहेको क्रिप्टो कारोबारअन्तर्गत अर्को मुद्दा पनि चलाइएको छ ।

प्रकाशित मिति २०८१ पुस ७ गते आईतबार ०४:४९
प्रतिक्रिया दिनुहोस्