सूर्यदर्शन सहकारी प्रकरणः आज रविको बयान सुरु हुने संभावना कति

सूर्यदर्शन सहकारी प्रकरणः आज रविको बयान सुरु हुने संभावना कति
२०८१ पुस ११ गते बिहिबार १०:१४

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूको बयान आज पनि जारी रहनेछ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतले गत सोमबारदेखि प्रतिवादीहरूसँग बयान लिइरहेको हो। बुधबार भने क्रिसमसको...

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूको बयान आज पनि जारी रहनेछ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतले गत सोमबारदेखि प्रतिवादीहरूसँग बयान लिइरहेको हो। बुधबार भने क्रिसमसको सार्वजनिक बिदा भएकाले बयान भएन।

अब आज (बिहीबार) देखि पुनः बयान थालिने जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सहकारी प्रकरणमा अहिलेसम्म छविलाल जोशीको बयान मात्र सकिएको छ। मंगलबार जोशीको बयान सकिएपछि लीला पछाईंको बयान सुरु भएको छ।

पछाईंको बयान बाँकी रहेकाले आज पनि उनकै बयान जारी रहने सूचना अधिकारी अधिकारीले बताए। ‘उहाँको बयान आज सकिएर अर्का प्रतिवादीको सुरु हुने सम्भावना छ’, उनले भने। आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु होला भन्ने प्रश्नमा भने अधिकारीले यो निश्चित नभएको बताए।

‘यो अहिले भन्न सकिने कुरा होइन, उहाँकै पनि हुनसक्छ, अर्का प्रतिवादीको पनि हुन सक्छ’, उनले भने, ‘किनकि अझै ३ जना हुनुहुन्छ।’ सो प्रकरणमा अब लामिछानेसहित रामबहादुर खनाल र कृष्ण गुरुङले बयान दिन बाँकी छ।

प्रकाशित मिति २०८१ पुस ११ गते बिहिबार १०:१४
प्रतिक्रिया दिनुहोस्