माक्र्सवादमा संशोधनवाद भन्नाले माक्र्सवाद लेनिनवादको मूल प्रस्तावनाको अबैज्ञानिक संशोधन गर्ने एक अवसरवादी धारा हो भन्ने बुझिन्छ । मार्कसवाद सर्वहारा क्रान्तिको बैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अङ्ग छन् । ती हुन दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मानव इतिहासको विकास प्रक्रियामा आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । वर्ग, वर्गसंघर्ष, पार्टी, राज्यसत्ता, राज्यसत्ता निर्माणमा क्रान्तिकारी हिँसाको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र ती सवैको विलुप्तिको अध्ययन, संघर्ष र व्यवहारिक प्रयोग बैज्ञानिक समाजवादद्वारा गरिन्छ । त्यसैले दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद माक्र्सवादी सिद्धान्तका तीनवटा संघटक अङ्ग मानिन्छन् । सर्वहारा वर्गको यो बैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो बैज्ञानिक सिद्धान्तसँग सामना गर्न सक्ने क्षमता आजसम्म कुनै सिद्धान्तसँग पनि छैन । माक्र्सवाद बैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराका रूपमा विकसित भएको छ ।
अब यहाँनेर बुझ्नै पर्ने कुरा के छ भने मार्क्सवादको संसोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । मार्क्सवादको सैद्धान्तिक विजयका कारण आफनो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादकोे बैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन, त्यो बेला संशोधनवादको जन्म हुन्छ । माक्र्सवाद जन्मको लगत्तै परुरधो जस्ता अवसरवादीहरूको जन्म भएको थियो । माक्र्सवादलार्ई पूरानो भइसकेको जडसुत्रवादी सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेस गर्ने पहिलो व्यक्ति भने वर्नस्टीन हुन् । वर्नस्टीन जर्मनको सामाजिक जनवादी क्रान्तिकारी आन्दोलनको संशोधनवादी प्रवक्ताको रूपमा उदाएको थियो । सन् १८९५ मा फ्रेडरिक एंगेल्सको देहवसान भएपछि लगत्तै सन् १८९६ मा वर्नस्टीनले माक्र्सवादलाई संशोधन गर्ने प्रस्ताव अघि सार्योे । माक्र्सवादलाई संशोधन गर्नु पर्दछ भन्ने पहिलो व्यक्ति वर्नस्टीन नै हुन् ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवं मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवं खतरनाक रहि आएको छ । संशोधनवादका अनेक तत्व र प्रकार छन् ।
संशोधनवादले विस्तारैविस्तारै नजानिदो तरिकाले आफुलाई विकसित गरिरहेको हुन्छ । कुरा, भाषण र दस्तावेज क्रान्तिकारी भएपनि त्यसको व्यबहार क्रान्तिकारी हुँदैन । त्यो शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादको रूपमा समेत पतन हुनसक्ने देखिन्छ । यो संशोधनवादको अन्तर्राष्ट्रिय परिघटना हो । यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा आफ्ना क्रान्तिका विशेषतासँगै संशोधनवादले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछ । उसका सामाजिक, सैद्धान्तिक र व्यवहारिक विशेषताहरू सहित संशोधनवादको जन्म हुने गर्दछ ।
ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक श्रोत निम्नपूँजीवाद, पूँजीवाद र साम्राज्यवाद पनि हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्वन्ध रहदै आएको छ । साम्राज्यवादको जन्म इङल्याण्डबाट भएको थियो, जब साम्राज्यवाद अन्य देशहरूमा फैलदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौँ अवसरवादी विकृतिहरू पैदा हुँदेै गएको कुरा बारे माक्र्स र एंगेल्सले उद्घाटित गर्नु भएको छ । सैद्धान्तिक रूपले हेर्दा संशोधनवादको वैचारिक श्रोत निम्नपूँजीवाद, पूँजीवाद र साम्राज्यवाद नै हो ।
संशोधनवादले माक्र्सवादका संघटक अङ्गको बारेमा दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद तीनवटै संघटक अंगलाई संशोधित एवं विकृत पार्दै आउने काम गरेको छ । संसोधनवादले दर्शनका क्षेत्रमा काष्ठवाद, प्रत्यक्षवाद, अनुभाववाद, व्यवहारवाद, प्राधिकारवाद, भडुवा विकासवाद र नानाथरी थरिका सारसंग्रहवादलाई आत्मसात गर्दै आएको छ । ब्यबहारिक परिणाममा द्वन्द्धात्मक एंव ऐतिहासिक भौतिकवाद विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी संकट तथा मुल्य सिद्धिान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील, समृद्धि र समाजवादउन्मुख देख्नु नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वतस्फूर्ततावादी उत्पादक शक्तिको सिद्धान्त अंगाल्नु जस्ता कुरा यसका मूलभूत विशेषता हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दछ । साथै मजदुर आन्दोलन र किसान आन्दोलनलाई सुधारवादी एवं संसदवादी भासमा फसाउनु यसका मुख्य विशेषता हुन् ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराका तीन गुणात्मक चरणमा भएको छ त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद हुँदै प्रतिक्रियावादको रूपमा विकृत हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्गदुश्मनहरू, उनीहरूको विचारधारा, तमाम अराजकतावादी तथा अवसरवादीहरू र संशोधनवादीहरूका विरुद्धको भीषण वर्गसंघर्ष, अन्तरसंघर्ष र दुइलाइनको संघर्षका बीचबाट निकै जटिल, संगीन र ओजपूर्ण तरिकाले भएको छ । मार्क्सवाद भनेको इतिहास र समाज विज्ञानको महान खोज हो । वर्ग, वर्गसंघर्षद्वारा समाजवादको स्थापना, सर्वहारा अधिनायकत्वको विकास र साम्यवादको स्थापना त्यस खोजको केन्द्रीय कडी अर्थात सारतत्व हो । अहिलेसम्म संशोधनवादीहरूले माक्र्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गर्ने गरेका छन् ।
संशोधनवादीहरु चाहे उग्रपन्थी होस् चाहे दक्षिणपन्थी, यीनिहरुले माक्र्सवादकोे भ्रष्टीकरण र प्रतिक्रियावादीको सेवा गरिरहेका हुन्छन् । उग्रवामपन्थी संशोधनवादको अन्तिम गन्तव्य पनि दक्षिणपन्थी संशोधनवाद नै हो । त्यसैले आफ्नो आफ्नो कार्यकालमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओले ती सबै प्रकारका संसोधनवाद विरुद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको संवाहक पार्टीलाई समेत स्थापित गर्नु भएको थियो । दोस्रो अन्तर्राष्ट्रिय कालमा वर्नस्टीनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेटेर वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र हिंसात्मक क्रान्तिको सिद्धान्तको विरुद्ध वर्गसमन्वय, वालिगमताधिकार, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्सिविकवाद, विसर्जनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्धार काउत्स्कीले वर्नस्टीनको सिद्धान्तलाई अनुसरण गर्दै सर्वहारा अधिनायकत्व र हिँसापुर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध शुद्ध जनवाद को पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशील समेत बताएको थियो । लेनिनले त्यसको विरुद्ध कडा संघर्ष गर्नुपरेको थियो । आधुनिक संशोधनवाको सुत्रपात मुख्यत ख्रुरश्चोभबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अबलम्वन गर्दै तथा वर्गसंघर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा स्थापना गर्योे । खु्रश्चेभदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसिवादका रूपमा गिर्न पुग्यो ।
सन् १९६० को दशकमा कमरेड माओले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गम्भीर अध्ययन र अर्कोतिर स्वयं चीनबाटै जटिल बन्दै गइरहेको पूूँजीवादको पुर्नस्थापना रोक्नका लागि सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरि महान दशवर्षे सांस्कृतिक क्रान्ति संचालन गर्नु भयो । माओको नेतृत्वको चिनियाँ नौलो जनवादी क्रान्तिले अर्धसामन्ती तथा अर्ध औपनिवेशिक मुलुकमा राष्ट्रिय अर्थतन्त्रको विकास गरेर समाजवाद निर्माणका निम्ति बलियो आधार तयार पार्नुपर्ने महान माओ विचारधाराको ब्यबहारिक प्रयोग भयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा माक्र्सवाद लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओ विचारधाराको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी मार्क्सवाद र संशोधनवादको भीषण द्धन्द्धको बीचबाट गुज्रिदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जीत र हारका अनेकौ घटनाहरू घटिसकेका छन् । सारा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतंकवादी, वामपन्थी संकृणवादी, जडसुत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन् कि भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू वर्नस्टीन, काउत्स्की र खु्रश्चेभ भन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पूँजीवादी संसद र प्रतिक्रियावादीहरुसँग पनि हातेमालो गरेर श्रमजीवी जनतालाई ढाट्ने, लुट्ने र भ्रमित बनाउनेतर्फको आदर्श मान्दै युरो कम्युनिज्मको पतित सिद्धान्तसम्म अंगाल्न पुगेका छन् र आज संशोधनवाद नाङ्गो दलाल पुँजीवादमा समेत गिर्ने क्रम बढिरहेको छ ।
हामी क्रान्तिकारीहरूले संचालन गर्दै आएको वर्गसंघर्ष, अन्तरसंघर्ष, दुइलाइन संघर्ष, अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवादबीचको यो भीषण लडाइँ आज आएर एकातिर मार्क्सवाद लेनिनवाद माओ विचारधारा र अर्कोतिर शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद हुँदै प्रतिक्रियावाद बीचको लडाइँमा अभिव्यक्त हुन पुगेको छ । यो एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको माक्र्सवाद र संशोधनवाद बीचको लामो ऐतिहासिक लडाइँको समृद्ध अनुभव एवं शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइँको माक्र्सवाद र प्रतिक्रियावाद बीचको लडाइँमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज माक्र्सवाद र संशोधनवाद बीचको भीषण संघर्षमा बदलिन पुगेको छ ।
अब यस कुरालाई नेपालको सन्दर्भमा भन्नुपर्दा संशोधनवादको मुख्य नेतृत्व सत्तासीन नेकपा ( एमाले) र माओवादी केन्द्रले गरिरहेका छन् । यिनिहरुले यही दलाल पूँजीवादी व्यवस्था अनुरुपको व्यबहार अनुसरण गर्दै नेपाली जनतालाई समाजवाद स्थापना गर्ने झुठो सपना बाडिरहेका छन् । यो शक्तिले आफुलाई कम्युनिस्ट भएको भन्ने प्रचारप्रसार गरेर जनतालाई भ्रमित बनाउन सफल भएको छ । यसले नेपालमा अब कुनै पनि प्रकारको राजनीतिक परिवर्तनको आवश्यकता नभएको कुरा प्रचारप्रसार गरिरहेको र केवल आर्थिक क्रान्ति वा परिवर्तनको खाँचो मात्रै रहेको कुरा औल्याउँदै आएको छ । यी शक्तिहरुले विकास गरेको संशोधनवाद अहिलेसम्म आउँदा साम्राज्यवाद र विस्तारवादसँग सम्झौता गर्ने प्रतिक्रियावादसम्म पतन हुने क्रममा रहेको छ। यी शक्तिका नेतृत्वतहले आफुलाई प्रतिक्रियावादी रूपमा बिकास गरिरहेका छन् । मौजुद अवस्थामा नै कथित आर्थिक विकास गरेर समाजवादको निर्माण गर्ने नेकपाको झुठो राजनीति विरुद्धको लडाइँमा हामी रुपान्तरण हुनु नै नेपालको सन्दर्भमा संशोधनवाद विरुद्धको लडाइलाई उँचो बनाउनु हो ।
नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा संशोधनवाद विरुद्धको संघर्षमा सत्तासीन नेकपा ( एमाले) र माओवादी केन्द्र र यस रवैयाको भण्डाफोर गरेर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विकास गर्नुपर्ने समस्या राष्ट्रिय चुनौतीको विषय बनेको छ । यो चुनौती विरुद्ध मार्क्सवाद लेनिनवाद माओ विचारधाराको प्रतिनिधित्व गर्ने क्रान्तिकारी धाराको रूपमा नेकपा ( मसाल ) ले ऐतिहासिक भुमिका खेल्दै आएको थियो । तर यस पार्टीमा पनि लामो कालखण्डसम्म व्यक्तिवादी तथा प्राधिकारवादी चिन्तन र सामन्ती प्रवृत्ति बोकेको नेतृत्वले कब्जा जमाइरहेको कारण आफ्नो आठौं महाधिवेशनद्वारा स्पष्ट रूपमा दक्षिणपन्थी राजनीतिक कार्यदिशा अख्तियार गरेको छ । नेकपा (मसाल) भित्र अहिले दक्षिणपन्थी र क्रान्तिकारी दुई धाराबीच दुइ लाइनको संघर्ष चर्को रूपमा चलिरहेको छ । पार्टी नेतृत्वले आठौँं महाधिवेशनको तयारीदेखि अहिलेसम्म पार्टी भित्रका क्रान्तिकारी धाराका नेताकार्यकर्तालाई एकएक गरेर अनुशासनको नाउँमा पार्टीबाट निष्कासन गरिरहेको छ । अचम्म त यो छ कि अनुशासनको नाउँमा नेताकार्यकर्तालाई दण्डा लगाउने सिलसिलामा स्वयम पार्टी नेतृत्व र केन्द्रिय समितीले कैयौं अनुशासन उलंघन गरिरहेको छ ।
मसाल भित्रको क्रान्तिकारी धाराले पार्टीलाई एकजुट बनाउने र दक्षिणपन्थी कार्यदिशा सच्याउन कडा संघर्ष गर्ने नीति लिएको बुझिन्छ तर पार्टी नेतृत्व नै स्वयं पार्टी फुटाउने वातावरण बनाउन उद्धत रहेको छ । अहिले पार्टी नेतृत्वले पार्टी विधानको धज्जी उडाउदै कथित शुद्धिकरण अभियान संचालन गरिरहेको छ । त्यतिमात्रै होइन, पार्टी सदस्यता खारेज जिल्ला समिति र केन्द्रिय समितीलेमात्रै गर्न सक्ने वैधानिक व्यवस्था छ तर केन्द्रिय समितीले निरीह रूपमा महाधिवेशनले दिएको आफ्नो अधिकार राजनीतिक ब्युरो र केन्द्रिय कार्यालयलाई सुम्पेको छ । जुन कार्यले पनि केन्द्रिय समितिले नै अनुशासन उलंघन गरेको देखिन्छ । विधान बिपरित केन्द्रिय समितीले सुम्पेको त्यहीँ अधिकार प्रयोग गरेर मसालको राजनीतिक ब्युरो र केन्द्रिय कार्यालयले भकाभक विभिन्न नेताकार्यकर्ताको सदस्यता खारेज गरिरहेको छ । त्यसको मुख्य उद्देश्य पनि आठौँं महाधिवेशनमा पारित आफ्नो दक्षिणपन्थी राजनीतिक लाइन ढाकछोप गर्ने र त्यस विरुद्ध संघर्ष गरिरहेका पार्टी भित्रका क्रान्तिकारी धाराका नेताकार्यकर्तालाई क्रमश पार्टीबाट हटाउने नै हो । यसैले आज नेपालको कम्युनिस्ट आन्दोलनमा संसोधनवाद विरुद्धको लडाइ झन्झन् महत्वपूर्ण विषय बनिरहेको छ । संसोधनवादीहरु अन्ततः श्रमजीवी वर्गको पक्षमा आवाज उठाउनेलाई नै दुश्मनको रूपमा देख्न थालेका छन् । यो गैर माक्र्सवादी चिन्तन हो । हामीले आत्मविश्वास राख्नु पर्छ कि यो महत्वपूर्ण लडाइँमा अन्ततः क्रान्तिकारी कम्युनिस्ट धाराको ध्रुवीकरण र विजयी अवश्य हुनेछ ।










