राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज पनि निषेधित क्षेत्र तोड्दै पोखराको शहिदचोकस्थित शहिद पार्कभित्रबाट नाराबाजी गरेका छन।
पार्टी सभापति रबि लामिछानेलाई जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन्।
उनीहरुले लामिछानेलाई मंगलबार पनि अदालतबाट प्रहरी हिरासतमा फिर्ता लैजाने क्रममा निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका बिरुद्ध चर्को नाराबाजी गरेका थिए। आज पनि रास्वपाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्न सक्ने कुरालाई ध्यानमा राखेर प्रहरीले निषेधित क्षेत्र प्रबेशमा कडाइ गरेको थियो। निषेधित क्षेत्र प्रवेश गर्न चाहने, पत्रकार संचारकर्मी , कानून ब्यबसायी र कर्मचारीलाई परिचय पत्र देखाउन अनिबार्य गरिएको थियो। अद्यापि निषेधित क्षेत्रभित्र नै पर्ने सहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले रबि लामिछानेलाई प्रहरी हिरासतमा फर्काउदै गर्दा नाराबाजी गरेका थिए। त्यस अघि प्रहरीले पार्कभित्र जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुलाई पार्कभित्रबाट हटाउने प्रयास गरेको थियो। तर रास्वपाका नेता तथा कार्यकर्ताहरुले बिरोध गरेका थिए।
यसैबीच प्राप्त जानकारी अनुसार , सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी रहेकोइ थुनछेक बहस अन्तिम चरणमा पुगेको छ। अन्य प्रतिबादीहरुको थुनछेक बहस सकिएको र बिहिबार जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट प्रत्युत्तर आएपछि बिहिबार नै उक्त प्रकरणमा अदालतको तर्फबाट आदेश आउन सक्ने धेरैले अनुमान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तम प्रसाद पौडेलले त बिहिबार साँझ सम्म आफ्नो पार्टी सभापति हिरासतमुक्त हुने दाबी गरे।









